पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।

वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ ।

पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ ।

पानी पर्न छाडेपछि पहिरो हटाइने न्यौपानेले बताए ।

यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो ।

पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन् ।

केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ । रासस