माडीमा कार्तिक १८ देखि मङ्सीर १ सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

माडीमा कार्तिक १८ देखि मङ्सीर १ सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन आयोगद्वारा जारी मतदाता शिक्षा निर्देशिका, २०७९ अनुसार देशभर जस्तै माडीमा पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ ।

वडास्तरमा २०७९ कार्तिक १८ देखि मङ्सीर १ सम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमको नगरस्तरिय समितिमा प्रमुख प्रशासकीय अधिकृत संयोजक हुने व्यवस्था रहेको छ ।

निर्देशिका अनुसार सो समितिको सचिवमा मतदाता शिक्षा अनुगमन अधिकृत रहने व्यस्था छ भने वडास्तरिय समितिको संयोजक वडा सचिव हुने तथा वडा स्तरिय समितिले बनाएको कार्यतालिका अनुसार वडामा घरदैलो र टोलटोलमा पुगी नमुना मतदान पत्र सहित मतदाता शिक्षा दिन एक वडामा एकजना महिला स्वास्थ्य स्वयम् सेविका परिचालित हुनेछन् ।

विगतका समयमा मतदातामा मत कसरी हाल्ने भन्ने शिक्षाको अभावमा धेरै मत बदर भएको हुँदा यस कार्यक्रमबाट कम मत मात्रै बदर हुने र मतदाताको मताधिकार सुरक्षित हुने लक्ष्य निर्वाचन आयोगले लिएको छ ।

यस अघि नै आयोगले माडी नगरपालिकाको निर्वाचन शिक्षा अनुगमन अधिकृतको जिम्मेवारी सूचना अधिकारी प्रवीण भण्डारीलाई दिएको छ ।मतदाता शिक्षा कार्यक्रम अन्तर्गत कार्तिक १८ गते माडी नगरपालिकाको कुनै एक क्षेत्रमा नमुना मतदान हुने आयोगले जनाएको छ ।