‘कोरोना’को त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

‘कोरोना’को त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

 प्राणघातक ‘कोरोना’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ ।

साथै, ‘बीटीएस’ कन्सर्टसमेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ ।

कोरोना संक्रमण रोकिनुको साटोे एसियादेखि युरोप हुँदै शुक्रबार अफ्रिकी उप–सहारा क्षेत्रमा कोरोना संक्रमित व्यक्तिहरु देखिएका छन् ।

जापानमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरु बन्द हुँदा त्यसबाट झन्डै एक करोड ३० लाख बालबालिका घरमै बस्नुपर्नेछ ।

जापानमा आयोजना हुनेगरी पूर्वतयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रमहरु रद्द भइसकेका छन् ।

टोकियो डिज्नेल्यान्ड र टोकियो डिज्नेसी दुवै मार्चको मध्यसम्मका लागि बन्द गरिएको छ ।

गत डिसेम्बरबाट चीनको वुहान हुँदै फैलिएको ‘कोभिड–१९’ नामको नयाँ कोरोना जीवाणु (भाइरस) एसियाली मुलुकहरुका अलावा युरोप र अफ्रिकासम्म पुगेको छ ।

साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तीर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाइ गरेको छ र मध्यपूर्वमा १०० भन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

इटालीमा कोरोनाको संक्रमण बढेसँगै कतिपय गाउँ–सहरमा निर्वाध आवागमनमा प्रतिबन्ध लगाइएको छ ।

अफ्रिकी मुलुक नाइजेरियामा समेत शुक्रबार एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ ।

कोरोनाबाट संक्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ र यसबाट चीन सबैभन्दा बढी प्रताडित छ ।

तर, दक्षिण कोरियामा पनि कोरोना संक्रमितको संख्या दुई हजार नाघिसकेको छ ।

अरु केही मुलुकमा पनि संक्रमित व्यक्तिको संख्या बढ्नुका साथै मृत्यु हुने व्यक्तिहरुको संख्या निरन्तर बढेको छ ।

इरानमा २६ जनाको मृत्यु भएको छ भने २५० जनाभन्दा बढीमा कोरोना देखिएको छ ।

अमेरिकी रक ब्यान्ड ग्रीन डेले एसियाली मुलुकमा गर्ने सांगीतिक कार्यक्रम रद्द गरिसकेको भने जापानमा हुन लागेको अमेरिकी अर्केस्ट्रा कार्यक्रम पनि रद्द भएको छ ।

हङकङ र सांघाईमा रहेका डिज्ने पार्कहरु पनि बन्द गरिएका छन् ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले मार्चको अन्त्यसम्म सबै विद्यालय बन्द गर्न आग्रह गरेका छन् ।

तर, प्रधानमन्त्रीको आदेशअघि नै केही विद्यालयहरु बन्द भइसकेका छन् । रासस/एपी