एमसिसी सम्झौता अनुमोदनविरुद्ध आन्दोलन उग्र बनेपछि सुर्खेतमा कर्फ्यू

एमसिसी सम्झौता अनुमोदनविरुद्ध आन्दोलन उग्र बनेपछि सुर्खेतमा कर्फ्यू

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदनविरुद्ध आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज राति सवा ८ बजेदेखि मङ्गलबार साँझ ७ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

 सुर्खेतस्थित पार्टी कार्यालयहरु, प्रहरी बिटमा तोडफोड र आगजनीको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

निषेधाज्ञा आदेश पूर्वमा वीरेन्द्रनगरको सुब्बाकुना, पश्चिममा बाङ्गेसिमल, दक्षिणमा काँक्रेबिहार जङ्गल र उत्तरमा कपासेसम्म भेला, जुलुस गर्न नपाइने र आदेश विपरीत गतिविधि गरेको पाइएमा स्थानीय प्रशासन ऐनबमोजिम कानुनी कारबाही हुने उल्लेख छ ।

 प्रजिअ रिजालले बन्दकर्ता उग्र बनेका र थप क्षति हुन नदिन निषेधाज्ञा आदेश जारी गरिएको बताए । आन्दोलनमा उत्रिएका बन्दकर्ताले साँझ सुर्खेत हटियालाइनस्थित नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को कार्यालय तोडफोड गरेका थिए ।

ढुङ्गामुढाबाट कांगे्रस कार्यालयका सिसा फुटेका छन् भने एमाले कार्यालय रहेको भवनमा व्यवसायीका सटर तोडफोड गरिएका छन् । पार्टी कार्यालयहरुमा आगजनी गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी भीड तितर बितर पारेको थियो ।

आन्दोलनकारी र प्रहरीबीच आज दिनभर वीरेन्द्रनगरका विभिन्न स्थानमा दोहोरो झडप भएको थियो । प्रतिनिधिसभाबाट एमसिसी अनुमोदन भएपछि विभिन्न आठ दलले आज नेपाल बन्दको आह्वान गरेका थिए ।