सार्वजनिक सवारी सञ्चालनको तयारी, जोरबिजोर प्रणालीमा खुलाउने

सार्वजनिक सवारी सञ्चालनको तयारी, जोरबिजोर प्रणालीमा खुलाउने

निषेधाज्ञा थप गर्ने विषयमा उपत्यकाका तीनै जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठक सकिएको छ । बैठकमा सार्वजनिक सवारीसाधन सञ्चालनको मोडालिटीबारे छलफल भएको हो । जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी खुलाउनेबारे छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

संक्रमण दरको अवस्था पनि विश्लेषण गरिरहेको प्रजिअ पराजुलीले बताए । जनस्वास्थ्य कार्यालयको रिपोर्टअनुसार अहिले काठमाडौंको संक्रमणदर १२/१३ प्रतिशत रहेको उनको भनाई छ । ‘यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्र थाहा हुन्छ । एकैपटक ह्वात्तै यातायात खुलाउने भन्दा पनि जोरबिजोरबाट लैजान सकिन्छ । सुझाव पनि यसरी नै आएका छन् ।’, सीडीओ पराजुलीले भने ।

तीनजनै सीडीओबाट जिल्लाको अवस्था रिपोर्टिङ भएपछि भोलिको बैठकबाट मंगलबारदेखिको निषेधाज्ञाको मोडालिटी निर्णय हुने बताइएको छ । त्यसका लागि केहीबेरमा सीडीओहरूको छलफल तय गरिएको हो । निजी सवारीसाधन र व्यापाररव्यवसाय सञ्चालनमा केही खुकुलो गर्दै पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिसम्म लागू हुनेछ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।