आज ६४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो

आज ६४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो

नेपालमा आइतबार थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आाइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ थियो ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ३३५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार २०१ थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ।

सिएमसीलाई कोरोना परीक्षण अनुमति

निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति यहाँको चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला छैन । भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड–१९ प्रयोगशालामा स्वास्थ्य मन्त्रालयले निर्देशन गरेका सम्भावित सङ्क्रमितको मात्र निःशुल्क परीक्षण गरिँदै आएको छ ।

नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उनले जानकारी दिए । कलेजले भित्र्याइएको पिसिआर उच्चस्तरको हो । ६ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्न सक्ने सातजना प्राविधिक रहेका छन् ।

दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० जनाको स्वाब परीक्षण गर्न सकिने छ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।