अयोध्यापुरिमा चहलपहल बढ्यो

अयोध्यापुरिमा चहलपहल बढ्यो

पछिल्लो समय नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपाल मै भएको र अयोध्या पनि नेपाल मै रहेको बताएपछि अहिले पुरातत्व बिभागले अनुसन्धान सुरु गरेको छ।प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना भइरहँदा कतिपयले चाहिँ यसमा खोज अनुसन्धान हुनुपर्ने बताउन थालेका छन् । उहाहरुले रामको जन्मभूमि अयोध्यासँग जोडिएका ऐतिहासिक तथ्य संकलनमा तदारुकता देखाउनुपर्ने बताउन थालेका छन् ।माडीको अयोध्यापुरीमा रहेका विभिन्न ठाउहरुको अनुसन्धान सुरु भैसकेको छ। प्राचिन समयमा सिताले ध्यान गरेको साथमा रामको जन्म भएको भन्दै स्थानियहरुले अयोध्या ठोरीमा पर्ने बताएका छन्। सिता गुफामा सिताको पाहिला देखि हनुमानले पहाड उचालेको सम्म आकृति देखिने कलात्मक ढुंगाहरुले पनि रामको जन्म भएको आकलन गर्न सकिने उहाहरु बताउनुभयो। धार्मिक क्षेत्रमा ठोरी अगाडी रहेको बताउदै उहाहरुले प्रधानमन्त्रीले ठोरीको बिषयमा कुरा उठाएकोमा धन्यवाद दिनुभएको छ। अब यतिले मात्र नपुग्ने बताउदै उहाहरुले पुरातत्व बिभागले प्रमाणित गर्न आग्रह समेत गर्नुभएको छ ।

स्थानिय जनप्रतिनिधि उत्साहित

अयोध्या नेपालमै पर्छ भनेर प्रधानमन्त्रीले दाबी गरेपछि सो क्षेत्रसँग जोडिएका जनप्रतिनिधिहरु पनि उत्साहीत भएका छन् ।प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यकै आधारमा आएको भन्दै ठोरीका जनप्रतिनिधिहरूले भगवान रामको जन्म यहीँ भएको भन्ने तर्क गर्न थालेका छन्। भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका ठाउँहरू ठोरी र माडीमा रहेको तर्क उहाहरूले अघि सार्नुभएको छ। ठोरी गाउपालिकाका अध्यक्ष पदम लाल श्रेष्ठले राम–सीतासँग जोडिएका यस क्षेत्रमा महत्वपूर्ण स्थलहरू रहेको बताउदै यस ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन हुनुपर्नेमा जोड दिनुभयो ।उहाले अयोध्या नेपालमै भएको धेरै प्रमाणहरू रहेको बताउदै यसको खोज अनुसन्धान हुन मात्र नसकेको बताउनुभयो । प्रधानमन्त्रीले अध्ययन गरेरै बोल्नुभएको हुनुपर्छ भन्दै उहाले हाम्रा संरचनाको अध्ययन नहुँदा हामीले अहिलेसम्म अयोध्या नेपालमै हो भन्ने दाबी गर्न नसकेको गुनासो गर्नुभयो ।राम नेपाली नै हुन् भन्ने धेरै आधारहरू यहाँ रहेको भन्दै प्रमुख श्रेष्ठले रामको तपोभूमि भएको आधारमा ठोरीमा रामनगर भन्ने ठाउँ पनि रहेको र रामकै बासस्थान भएकाले रामनगर भनिएको भन्ने किंवदन्ती रहेको बताउनुभयो। रामनगरको ठुटेखोला पारि सोमेश्वर पहाडको काखमा सीता गुफासमेत छ ।नेपाल–भारत छुट्याउने सीमाको रूपमा सोमेश्वर पहाडको शिखरलाई लिइन्छ । पहाडको उत्तरतर्फ नेपालपट्टिको भागमा सीता गुफा अवस्थित रहेको बताउदै उहाले पहाडको शिखर दक्षिणतर्फ भारतको वाल्मीकि टाइगर्स रिजर्भको जंगल रहेको बताउनुभयो ।

नेपालको अयोध्यासँग जोडिएको जंगल भएकाले त्यो ठाउँको नाम वाल्मीकि टाइगर्स रिजर्भ राखिएको हुन सक्ने र त्यसैले यसको विशेष खोज अनुसन्धान हुनु आवश्यक रहेको उहाको भनाइ थियो ।अध्यक्ष श्रेष्ठले ढिलै भए पनि प्रधानमन्त्री ओलीले अयोध्या ठोरीमा अवस्थित छ भनेर बताउनु स्वागतयोग्य भएको बताउनुभयो ।जनप्रतिनिधिका रूपमा निर्वाचित भएदेखि नै सीतागुफाको संरक्षण र सम्बर्धनमा आफुहरु निरन्तर लागि रहेका बताउदै श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्ति आउनुभन्दा अघि नै आफुहरुले सीतागुफा क्षेत्रमा राम–सीताको मन्दिर बनाउन ७ लाख रूपैयाँ बजेट विनियोजन गरिसकेका बताउनुभयो ।साथै उहाले रामनवमीको दिन सो ठाउँमा पूजापाठ गर्न डेढ लाख छुट्याएको बताउनुभयो ।