जाजरकोटमा जीप दुघर्टना अपेडट : तीनजनाको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्दार

जाजरकोटमा जीप दुघर्टना अपेडट : तीनजनाको मृत्यु, घाइतेको हेलिकोप्टरबाट उद्दार

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । गम्भीर घाइते पाँचजनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

सुर्खेतबाट जुनीचाँदेका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप जुनीचाँदे गाउँपालिका ५ बलेपुइन नजिकैको मोर्डमा दुघर्टना भएको हो ।

मृत्यु हुनेमा जुनीचाँदे ५ स्यालाकी ४० वर्षीया पुतला गिरी, जुनीचाँदे ६ का २१ वर्षीय दर्शन शाही र सोही वडाकी ३४ वर्षीया कालिका शाही रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।

गम्भीर घाइते लालबहादुर बुढा, विपना शाही, टोपबहादुर थापा, समीक्षा शाही र सरिता शाहीलाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको प्रजिअ शाहीले बताए ।

अन्य तीनजना सामान्य अवस्थामा छन् ।

जुनीचाँदे ५ लामा तडाको बाटो अवरुद्ध भएका कारण लुहादहहुँदै गर्खाकोट आएको गाडी दुर्घटना भएको जुनीचाँदे गाउँपालिका ५ वडा अध्यक्ष जयबहादुर बस्नेतले बताए । मोडमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाणले दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएपछि नेपाली सेनाको सुर्खेतस्थित कार्यालयबाट हेलिकोप्टर उद्धारका लागि जाजरकोट पठाइएको हो ।