नेपालमा दैनिक १८ हजार मोबाइल भित्रिन्छन्

नेपालमा दैनिक १८ हजार मोबाइल भित्रिन्छन्

नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ।

चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा उक्त सङ्ख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो।

विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन्।

गत आवमा मोबाइलको आयातमा केही कमी आए पनि यस वर्ष आयातको प्रवृत्ति भने बढेको छ।

गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुपियाँ बराबरका १३ लाख ६२ हजार ३३१ थान मोबाइल आयात भएका थिए।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ।

त्यहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपियाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएका छन्।

चीनका हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलनमा छन्।

चीनपछि भारतबाट तीन अर्ब ४० करोड रुपियाँ बराबरका तीन लाख १२ हजार थान मोबाइल भित्रिएको तथ्याङ्क छ।

भियतनामबाट समीक्षा अवधिमा करिब २७ हजार थान मोबाइल आयात भएको छ।