टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङमा टिपरको ठक्करबाट मंगलबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । रंगेली नगरपालिका–७ स्थित रंगेली बजारमा पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको टिपरले प्र १–०२–०४३ प ८०११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

बिहान ९:१५ बजेतिर भएको दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई नगरपालिका–६ सौंठाका ४२ वर्षीय तिलकराज खड्काको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते खड्काको उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो । प्रहरीले टिपर र चालक मोरङको धनपालथान गाउँपालिका–६ का ३९ वर्षीय विद्यसागर रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।