सर्वोच्चमा सामूहिक रिट दिन विपक्षी दलहरु आन्तरिक छलफलमा

सर्वोच्चमा सामूहिक रिट दिन विपक्षी दलहरु आन्तरिक छलफलमा

प्रतिनिधि सभा विघटन विरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा सामूहिक रुपमा रिट दर्ता गर्दैछन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको र नयाँ सरकार बन्ने सम्भावना हुँदाहुँदै मनपरी निर्णय गरेको भन्दै सकभर एक सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दर्ताको तयारी गरिएको विपक्षी गठबन्धनले जनाएको छ । रिट दर्ताको लागि अहिले दलहरु आन्तरिक छलफलमा छन् ।

माओवादी केन्द्र र नेपाली कांग्रेसको बैठक सिंहदरबारमा बसिरहेको छ । जसपाको उपेन्द्र-बाबुराम पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा पनि छलफलमा छन् । काठमाण्डौमा उपस्थित सबै सांसदहरु सर्वोच्चमा पुग्ने र काठमाण्डौमा नभएका सांसदको हस्ताक्षरसहित रिट निवेदन दर्ता गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले उज्यालोलाई जानकारी दिनुभयो ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकोमा गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई बुझाएको थियो ।

तर प्रधानमन्त्रीले पनि आफूलाई एक सय ५३ जना सांसदको समर्थन रहेको भन्दै निवेदन पेस गरेपछि राष्ट्रपतिले मध्यरातमा संसद विघटन गर्नुभएको थियो । तर प्रधानमन्त्रीले सांसदहरुको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै त्यसको छानबिन गर्न विपक्षी दलले माग गरेका छन् ।