माडी क्षेत्र एक साताको लागि सिल्ड

माडी क्षेत्र एक साताको लागि सिल्ड

माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोलि बिहीबारदेखि ७ दिनसम्म माडी नगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ ।यस अवधीमा माडी नगर क्षेत्रमा प्रवेश र माडीबाट बाहिरिन पूर्णतः बन्देज रहनेछ । अस्पतालले रिफर वा डिस्चार्ज गरेका बिरामीहरु तथा मृतकका नजिकका परिवार सदस्यहरुबाहेक अरुलाई माडीबाट बाहिरिन तथा भित्रिन बन्देज रहने माडीका नगरप्रमुख तथा समन्वय समितिका संयोजक ठाकुर प्रसाद ढकालले जनाउनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ चितवनसंगै माडी क्षेत्रमा समेत देखिईसकेको अवस्थामा स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै सो निर्णय गरिएको उहाँको भनाई छ । सिल्ड अवधीमा मास्क नलगाई हिँडडुल गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सक्ने निर्णय भएको छ । त्यस्तै, मोटरसाइकलमा बिनाकाम यात्रा गरेमा प्रहरीले सिल अवधीभर सिज गर्न सक्नेछ । यस अवधीमा मोटर साईकल, अटो, टेम्पो लगायतका सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाउने, अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलहरु बाहेक अन्य संघ संस्था तथा पसलहरु पुर्णरुपमा बन्द रहने निर्णय गरिएको जनाइएको छ ।