कोरोना जाँच गर्न राखिएको मान्छेको रगत बाँदरले चोरेपछि…

कोरोना जाँच गर्न राखिएको मान्छेको रगत बाँदरले चोरेपछि…

कोरोना भाइरसको परीक्षणका लागि संकलन गरिएको रगतको नमूना बाँदरले चोरेर लगेपछि भारतको एक मेडिकल कलेजमा तहल्का मच्चिएको छ ।

उत्तर प्रदेशस्थित मीरुट सहरमा रहेको मीरुट मेडिकल कलेजमा बाँदरको एक झुण्ड छिरेर प्रयोगशालामा नमूना परीक्षणका लागि राखिएको कोरोना भाइरस संक्रमितको रगतका नमूना चोरेर भागेको हो ।

समाचार अनुसार तीनजना कोभिड विरामीको रगतको नमूना राखिएका टेष्टट्युबहरु बाँदरले चोरेको हो ।

बाँदरले कोरोना परीक्षणका लागि राखिएको रगत चोरी गरेर लगेको भिडियो नै सामाजिक सञ्जालमा अपलोड गरिएको छ । त्यसमा बाँदरले अस्पताल परिसरमा रहेको एउटा रुखको टुप्पामा बसेर आफूले चोरेर लगेको रगतको नमूनाको टेष्टट्युब तथा सर्जिकल पञ्जाहरु समेत चपाउन लागेको देखिन्छ ।

उत्तर प्रदेशको सबैभन्दा ठूलो अस्पतालको रुपमा रहेको उक्त शिक्षण अस्पताल सो प्रान्तको कोरोना परीक्षण तथा उपचारको केन्द्रीय प्रयोगशाला तथा अस्पताल पनि हो ।

अस्पतालका अनुसार बाँदरले चोरी गरेको नमूना कोरोना विरामीको स्वाब नभई नियमित रुपमा परीक्षणका लागि लिइएको रगत हो । नमूना रगत बाँदरले चोरी गरेका तिनैजना विरामीहरु सोही अस्पतालमा उपचाररत छन् ।

बाँदरले चोरी गरेको रगत कोभिड–१९ विरामीको रगत भएकोले बाँदरका कारण कोरोना भाइरस फैलिने जोखिम बढेको कतिपयले बताइरहँदा अस्पतालले भने रगतको नमूनाबाट कोरोना भाइरस सर्ने जोखिम नरहेको दाबी गरेको छ ।

–एजेन्सी