भारतीयले आक्रमण प्रयास गरेपछि झापामा गोली चल्यो

भारतीयले आक्रमण प्रयास गरेपछि झापामा गोली चल्यो

भारतीय नागरिकले सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीकाे अस्थायी पोस्टमा आक्रमण प्रयास गरेपछि दक्षिणी झापाको कचनकवल सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका छन्। आक्रमणको प्रयास गर्न खोजेपछि सशस्त्र प्रहरी प्रतिकारमा हवाई फायर गरेका हुन्। कचनकवल १ स्थित घेराबारीस्थित १२५ र १० नम्बरको सीमा पिलर नजिकै रहेका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । प्रहरीका अनुसार शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए । प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए। यता भारतीय नागरिकले सीमा क्षेत्रमा आएर आक्रमण प्रयास गरेपछि भारतीय एसएसबीसँग जानकारी गराइसकेका छौ,’ एसपी कोइरालाले भने, ‘साँझ घटना घटेकोले भोलि (आइतबार) यस विषयमा भारतीय एसएसबीसँग छलफल गर्छौं।’ केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही विषयलाई लिएर उनीहरू फेरि आएको बताइएको छ। उता केही दिनअघि मात्र झापा गाउँपालिका ४ स्थित सुकुमबासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलरमा सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेका थिए । दुई जना भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीय नागरिक आएर आक्रमणका प्रयास गरेका थिए । त्यसको भोलिपल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकहरूले गल्ती स्विकार्दै माफी मागेका थिए।
Read more at: https://thahakhabar.com/news/98195