सुत्केरी आमाको मृत्यु अघिल्लो चैतमा शून्य, यो चैतमा ५३

सुत्केरी आमाको मृत्यु अघिल्लो चैतमा शून्य, यो चैतमा ५३

कोरोनाले देश र दुनियाँ त्रस्त छ, रोकथाम र उपचारका लागि अनेक प्रयत्न र बहस भइरहेका छन् । तर, यतिवेला सुत्केरी आमाहरूको स्वास्थ्य सुरक्षा छायामा परेको छ । अस्पतालसम्म पहुँच नपाएर, अस्पताल पुगे पनि उपचार नपाएर सुत्केरीको मृत्यु भइरहेको छ । कोरोनाका वेला बढेको मातृ मृत्युदर चिन्ताजनक छ । 

संक्रमणको डरले अस्पतालले सेवा दिँदैनन् भनेर तथा अस्पतालसम्म पुग्ने यातायात साधन नपाएर ग्रामीण क्षेत्रका गर्भवती अहिले घरमै सुत्केरी हुन थालेका छन् । यो संख्या सामान्य छैन । गत माघदेखि कोरोना संक्रमणको त्रास फैलिएपछि फागुनदेखि नै गर्भवती महिला अस्पताल जान कम भएको देखिन्छ । नया पत्रिका दैनिकमा समाचार छ

यो फागुनमा १५ हजार एक सय ८७ महिला सुत्केरी भएको सरकारी तथ्यांक छ । जब कि अघिल्लो वर्ष यही महिनामा ३२ हजार चार सय १० महिला सुत्केरी भएको तथ्यांक आएको थियो । त्यस्तै वर्ष ०७४ को फागुनमा २७ हजार महिला सुत्केरी भएका थिए । तर, यो फागुनमा नै ठूलो संख्यामा गर्भवती महिला स्वास्थ्य संस्थाको सम्पर्कबाहिर रहे । अझ चैतको तथ्यांक त आश्चर्यजनक छ । यो चैतमा जम्मा १४ सय ३६ महिला सुत्केरी भएको तथ्यांक आएको छ । यो हिसाबले फागुनमा १५ हजार र चैतमा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर छन् । तिनको स्वास्थ्य कस्तो छ भन्ने विषय साँच्चै सोचनीय छ ।