कोरोना संक्रमणमा भारत विश्वको ११ औँ स्थानमा, उछिन्यो चीनलाई

कोरोना संक्रमणमा भारत विश्वको ११ औँ स्थानमा, उछिन्यो चीनलाई

कोरोना महामारीको उद्गम चीनभन्दा धेरै पछि संक्रमण फैलिएको भारतको पछिल्लो स्थिति चीनभन्दा नराम्रो छ। शुक्रबारसम्म कोरोना संक्रमणमा चीनलाई समेत उछिनेर भारत विश्वव्यापी सूचीमा एघारौं स्थानमा पुगेको छ। यसअघि चीनभन्दा एक स्थान तल थियो। शुक्रबार राति १० बजेसम्मको तथ्यांकअनुसार भारतमा ८५,५४६ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ८२,९३३ जना संक्रमित छन्। शुक्रबार एक दिनमै भारतमा ३,५४९ जनामा संक्रमण फेला परेको थियो। यो अहिलेसम्मकै उच्च दर हो।

भारतको कोरोना मृत्यु भने चीनको तुलनामा झन्डै आधा छ। चीनमा अहिलेसम्म ४,६३३ जनाले ज्यान गुमाएका छन्। भारतमा यो संख्या २,७४६ छ। पछिल्लो २४ घन्टामै भारतमा सय जनाभन्दा बढीले ज्यान गुमाएका छन्। भारतमा पछिल्लो समय दिनकै हजारमा दुई हजारका दरले संक्रमित बढ्दै गएको पाइन्छ। चीनमा भने दैनिक चार–पाँच जना मात्र नयाँ बिरामी फेला परेका छन्। यस आधारमा भारतमा संक्रमित संख्या अझ बढ्दै जाने देखिन्छ।
यति मात्र होइन, भारतमा कोरोना भाइरस सक्रिय अवस्थामै छ। यहाँ कुल बिरामीमध्ये ५२,७११ जनामा भाइरस सक्रिय रहेको तथ्यांकले देखाउँछ। जबकि, चीनमा यस्तो संख्या सय जनाभन्दा कम छ।

लामो खुला सीमा रहेको र दिनका दिन सामूहिक वा लुकिछपी मान्छे ओहोरदोहोर गरिरहेको भारतमा यति ठूलो संख्यामा भाइरस सक्रिय देखिनु नेपालका लागि जोखिमको अवस्था हो।नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन्। अन्तर्रा्ष्ट्रिय उडान बन्द भए पनि खुला सीमा हुँदै प्रवेश गरेका व्यक्तिहरूमा संक्रमण फेला परेको छ। भारतसँग सीमा जोडिएका तराई जिल्लाहरूमा संक्रमित संख्या बढ्दै जानुको कारण यही हो। रेल सेवा सुरू भएपछि आवागमन गर्ने कामदारहरूले सबभन्दा बढी भाइरस फैलाइरहेको इन्डियन एक्सप्रेसले जनाएको छ।