गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन बनाउने तयारी

गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन बनाउने तयारी

सरकारले गाँजालाई औषधिका रूपमा प्रयोग गर्न दिने गरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।  

विधेयक तयार पारेर गएको फागुन १० गते गृह मन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । विधेयकमा गाँजाको उत्पादन, सङ्कलन, बिक्री/वितरण र निकासी कसरी गर्ने भन्ने विषय समेटिएको छ । यो विधेयक कानुन भएर आएपछि लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ ।

मन्त्रालयले केही दिन अगाडि सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख थियो । यो विधेयक कानुन बनेर आएपछि त्यसैमा टेकेर कार्यविधि बनाउने तयारी मन्त्रालयको छ । काठमाण्डौ विश्वविद्यालयले गाँजाको अनुसन्धान गर्न र थुप्रै सङ्घ–संस्था तथा फर्महरूले गाँजाको खेती गर्न गृह प्रशासनसँग अनुमति मागिरहेका छन् ।