रोकिएको ‘कमेडी च्याम्पियन’ आगामी सातादेखि प्रशारणमा ल्याउने तयारी

रोकिएको ‘कमेडी च्याम्पियन’ आगामी सातादेखि प्रशारणमा ल्याउने तयारी

रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ संचालनमा ल्याउने तयारी गरिएको छ । कोरोना भाइरसले सिर्जना भएको परिस्थितिका कारण छायांकन सम्भव नहुँदा रियालिटी शोको प्रशारण रोकिएको थियो । झण्डै डेढ महिनादेखि शोको प्रशारण बन्द थियो । निषेधाज्ञा केही खुकुलो भएपछि आयोजकले स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै शोलाई प्रशारणमा ल्याउने तयारी गरेको हो ।

निर्णायकमध्येका एक मनोज गजुरेलका अनुसार शोलाई आगामी सातादेखि प्रशारणमा ल्याउने तयारी छ । ‘यस सातादेखि छायांकन सुरु गर्ने र आगामी सातादेखि प्रशारणमा ल्याउने गरि छलफल भईरहेको छ’– उनले भने । उनका अनुसार प्रतियोगीहरुलाई मात्र सहभागी गराएर छायांकन गर्ने तयारीमा निर्माणपक्ष छ ।

सिजन २ मा १६ भागसम्म प्रशारण भएको शोमा उत्कृष्ट ९ प्रतियोगीतबीच प्रतिस्पर्धा चलिरहेको थियो । ‘कमेडी च्याम्पियन सिजन २’ कान्तिपुर टेलिभिजनमा शुक्रबार र शनिबार बेलुका ९ः१० बजेबाट प्रशारण हुँदै आएको थियो । थ्रि प्रोडक्सनले निर्माण गरेको कमेडी च्याम्पियनलाई विशाल भण्डारीले निर्देशन गर्दै आएका छन् । यसको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् ।

सिजन २ को उद्घोषण रीमा विश्वकर्मा र मेक्सम गौडेलले गर्दै आएका छन् । कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, रीमा विश्वकर्मा, राज घिमिरे र हिरन कुमार बस्नेत रहेका छन् ।