महोत्तरीको सीमा नाकामा भारतीयहरुको ढुङ्गामुढा, एक प्रहरी जवान घाइते

महोत्तरीको सीमा नाकामा भारतीयहरुको ढुङ्गामुढा, एक प्रहरी जवान घाइते

महोत्तरीको मटिहानी नगरपालिका-८ नेपाल-भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीहरुबीच विवाद हुँदा झडप भएको छ ।

झडप हुँदा प्रहरी जवान विवेक ढकालको टाउकोमा चोट लागेको छ भने उनकाे पोसाक समेत च्यातिएको छ । मटिहानीमा रहेको २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरेका प्रहरी निरीक्षक बलराम गौतमले बताउनुभयो ।

गएराति ८ बजे जाँडरक्सी पिएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीमाथि ढुङ्गामुढा गरेका उहाँले बताउनुभयो । सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको भारतीय पक्षको आरोप छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर ढुङ्गामुढा गरेको बताएका छन् ।