अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन ।  सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरे पनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको छ । 

अस्पतालका  निर्देशक डा शान्ता सापकोटाले सरकारको निर्देशनानुसार नयाँ भवन सञ्चालनका लागि तयारी गरिए पनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताउनुभयो ।  नेपालमा अहिले १५ हजार अक्सिजन सिलिण्डरको माग र सात हजार २०० मात्र उत्पादन हुने गरेको छ ।  ‘हामीले भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा गरेका थियौँ  तर अक्सिजन नभएपछि रोकिएको छ’, उहाँले भन्नुभयो, ‘अहिले सङ्क्रमितलाई अक्सिजन चाहिन्छ । त्यसैले  अक्सिजनविना  बिरामीलाई नयाँ भवनमा राख्न सकिँदै ।’

शुरुमा एक सयदेखि ३०० शय्या सञ्चालन गर्ने योजना थियो । सर्जिकल बिरामीका लागि बनाइएको भवन ५०० शय्याको  छ । त्यहाँ बिरामी राखेर उपचार गर्नका लागि कम्तीमा ६०० सिलिण्डर अक्सिजन आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले अक्सिजनको आपूर्ति गर्नका लागि प्रयास भइरहेको र  प्राप्त हुनासाथ भवनमा बिरामीलाई राखिने जानकारी दिनुभयो ।