चौरजहारी घटना: थप एक जनाको शव भेटियो

चौरजहारी घटना: थप एक जनाको शव भेटियो

जाजरकोटको भेरी नदीमा वेपत्ता रहेका दुई जनामध्ये बिहीबार १ जनाको शव फेला परेको छ।

छिन्चु–जाजरकोट सडक खण्डमा पर्ने कालाभीर नजिक भेरी नदीको किनारमा एकजनाको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिका–४ बा सञ्जु विकको शव फेला परेको हो। नेपाल प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक महेशकुमार आचार्यले जानकारी दिए।

शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये एक जना सोही दिन राति मृत भेटिएका थिए भने ५ जना बेपत्ता थिए।

ती पाँचमध्ये बिहीबारसम्म चार जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।