मास्क वितरण गर्ने व्यक्ति र अटो चालकलाई पनि कोरोना सङ्क्रमण

मास्क वितरण गर्ने व्यक्ति र अटो चालकलाई पनि कोरोना सङ्क्रमण

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-३ मा मास्क बनाउने जिम्मा दिइएका व्यक्तिलाई नै कोरोनाको सङ्क्रमण भएको छ ।

भुल्केमा टेलरिङ व्यवसाय सञ्चालन गर्ने ती व्यक्तिलाई एक सामुदायिक वन कार्यालयले मास्क बनाउने जिम्मा दिएको थियो । उनले ८ सय वटा मास्क तयार गरेका र तीमध्ये आधा जति आफैँले वितरण गरेका थिए । उनले बनाएकामध्ये चारसय मास्क भुल्केको मस्जिद आसपासको गाउँमा वितरण गरिएको थियो ।

त्यस्तै भुल्केकै एक अटो चालकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ । उनको परिवारका पाँच जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनले धेरैजसो भुल्के, मोतिगडा, गाईघाट, सोनुवा, मोथियाही लगायतका ठाउँमा अटो चलाएका थिए ।

यी दुवै भुल्केमा सङ्क्रमण पुष्टि भएका ११ जनामध्येमा पर्दछन् ।

अटोमा चढेका सर्वसाधारण र अटो चालकहरु गरी सयौँ जना उनको सम्पर्कमा आएको हुनसक्ने सिटी सफारी तथा अटो व्यवसायी संघका अध्यक्ष जयप्रसाद आचार्यले बताउनुभयो ।