भारतबाट नेपाल फर्केकाहरुलाई राख्न समस्या भएपछि रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टाइन स्थापना गर्ने विषयमा बिहीबार झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ । अहिले त्यस क्षेत्रको अवस्था सामान्य भएको छ । झडपको क्रममा प्रहरीका असई घाईते भएका छन् ।
कटहरिया नगरपालिकाले १ नम्बर वडास्थित भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएको थियो । बाक्लो बस्ती भएको ठाउँमा क्वारेन्टाईनमा राख्न नहुने भन्दै स्थानीयले अवरोध गरेपछि झडप भएको हो । क्वारेन्टाइनका लागि ठाउँ हेर्न गएका जनप्रतिनिधि र सुरक्षाकर्मीमाथि स्थानीयले केहीबेर ढुंगामुढासमेत गरेको प्रहरीले बताएको छ । झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउकोमा चोट लागेको छ । ढुंगा लागेर घाइते भएका असई साहलाई उपचारका लागि गरुडा ल्याइएको छ ।
स्थानीयसँगको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरीका डिएसपि भरत श्रेष्ठले बताए । ‘क्वारेन्टाइन बनाउने बिषयमा विवाद भएको हो,’ उनले भने, ‘अहिले स्थिति नियन्त्रणमा छ ।’
कटहरिया ५ स्थित जनता माविमा रहेको क्वारेन्टाइनमा २ सय बढी राखिएपछि नगरपालिकाले अर्को स्थानमा क्वारेन्टाइन स्थापना गर्न लागेको हो ।