रौतहटमा कोरोना भाइरसका २० नयाँ संक्रमित थपिएका छन् । रौतहटको राजपुर र राजदेवी नगरपालिकाका व्यक्तिमा आज संक्रमण पुष्टि भएको हो । रौतहटको राजपुरमा १७ र राजदेवी नगरपालिकाको क्वारेन्टाइनमा रहेका थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएका ३० जना सम्बन्धीत नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् । आज संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट फर्किएका नेपालीहरु हुन् । पछिल्लो तीन दिनदेखी रौतहटमा संक्रमितको संख्यामा व्यापक वृद्धि भइरहेको छ ।
मंगलवार रौतहटको गौर, देवाही गोनाही, गरुडा र राजदेवी नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२ जनामा संक्रमण पुष्टी भएको थियो । बुधवार ३५ जनामा संक्रमण पुष्टी भएको थियो भने आज थप २० जना संक्रमित भएका हुन । यो सँगै रौतहटमा संक्रमित हुनेको सँख्या १ सय २५ पुगेको छ ।
संक्रमितको संख्या बढेसँगै उपचार गर्ने आइसोलेसन कक्षहरुको अभाव हुन थालेको छ । भारतबाट फर्कनेहरुको संख्या नरोकिएकोले रौतहटमा क्वारेन्टाइनको संख्या समेत बढाउनुपर्ने अवस्था रहेको छ । रौतहटको क्वारेन्टाइनमा वैदेशिक रोजगारी लगायतको काम बाट फर्कनेहरुको चाप थेग्न नसक्ने अवस्था पुगेको छ ।