दक्षिण कोरियामा रहेका नेपाली भन्छन्, ‘त्रासैत्रासमा काम गरिरहेका छौं’

दक्षिण कोरियामा रहेका नेपाली भन्छन्, ‘त्रासैत्रासमा काम गरिरहेका छौं’

चीनको वुहान क्षेत्रबाट सुरु भएको कोडिङ–१९ अर्थात कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदो छ। पछिल्लो तथ्यांकअनुसार हालसम्म यसको संक्रमण ६० भन्दा बढी देशमा फैलिएको छ। शनिबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्रै सबैभन्दा बढी २ हजार ८ सय ३५ जनाले ज्यान गुमाएका छन्।

चीनमा मात्रै संक्रमितको संख्या ८० हजार हाराहारी पुगेको छ। ३९ हजार जना संक्रमित ठिक भएर घर फर्किसकेका छन् भने ३७ हजार ३ सय विरामीको अहिले पनि उपचार भैरहेको छ। जसमा साढे ७ हजारको अवस्था गम्भीर छ। चीनबाहिर पनि पाँच हजार बढीमा यसको संक्रमण देखिएको छ। संक्रमितको संख्या हालसम्म ८५ हजार नाघेको छ।

चीनपछि यसको प्रभाव ईरान, इटाली र दक्षिण कोरियामा बढी देखिएको छ। इरानमा मात्रै हालसम्म ३४ र इटालीमा २१ जनाले ज्यान गुमाएका छन् भने दक्षिण कोरियामा मात्रै हालसम्म १७ जनाले ज्यान गुमाइसकेका छन्। जापानमा ५, हङकङमा २, फ्रान्समा २, ताइवानमा १ सहित २९२४ जनाले ज्यान गुमाएका छन्।

दक्षिण कोरियामा शनिबार बिहानसम्मको तथ्यांकअनुसार २ हजार ९ सय ३१ जनामा यसको संक्रमण देखिएको छ। जसमा ५ सय ९४ नयाँ संक्रमण भएका बिरामी थपिएका हुन्। जसमध्ये ७ को अवस्था गम्भीर रहेको तथ्यांकमा उल्लेख छ। २४ जना भने उपचारपछि घर फर्किएका छन्।

दक्षिण कोरिया नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत र अध्ययनका लागि करिब ५० हजारको हाराहारीमा नेपालीहरु त्यहाँ हरेको अनुमान छ।

सिओलदेखि ३ सय किलोमिटर दक्षिणको थेगु सहरमा सुरुमा कोरोनाको संक्रमण देखिएको थियो। पछिल्लो समय सबैभन्दा बढी प्रभावित क्षेत्र पनि यही हो। नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रन्जनराज कुँवरका अनुसार सो क्षेत्रमा मात्रै ७ हजारको हाराहारीमा नेपाली छन्।