खाडीमा कोरोनाको सङ्क्रमण बढ्दै, नेपालीलाई सावधानी अपनाउन आग्रह

खाडीमा कोरोनाको सङ्क्रमण बढ्दै, नेपालीलाई सावधानी अपनाउन आग्रह

चीनबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण कोरिया, अमेरिका, युरोप हुँदै खाडीका देशसम्म फैलिएपछि ती देशमा रहेका नेपालीको बारेमा चिन्ता बढेको छ ।

देश र विदेशमा रहेका नेपालीलाई अहिलेसम्म कोरोनाको सङ्क्रमण त भएको छैन तर जोखिम बढेको छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुले सूचना निकालेर सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् । 

बहराइन र कुवेतमा रहेका नेपाली दूतावासले कोरोना भाइरसको लक्षणको जानकारीसहित त्यहाँ रहेका नेपालीलाई सावधानी अपनाउन अनुरोध गरेका छन् ।

सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता भिडभाड धेरै हुने ठाउँमा सकभर नजान र जानुपर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) लगाउन आग्रह गरिएको छ । यस्तै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नसमेत दूतावासले अनुरोध गरेका छन् ।

खाडीका देशमध्ये बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमनमा चार र कतारमा एक जनामा सङ्क्रमण देखिएको छ । यस्तै नेपालीको सङ्ख्या धेरै रहेको मलेसिया, कोरिया, जापान लगायतका देशमा पनि कोरोनाको सङ्क्रमण फैलिएको छ ।  

नेपालीको सङ्ख्या धेरै रहेको देशमा कोरोनाको सङ्क्रमण फैलिँदै गएको र नेपालमा पनि जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

शनिबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशमा सङ्क्रमणको स्थिति नजिकबाट नियाल्ने र रोकथामका लागि आवश्यक निर्णय गर्ने जनाइएकाे छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशमा हवाई उडान रोक्ने विषयमा समेत छलफल भएको छ ।

मन्त्रीहरुसमेत सहभागी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने हरेक यात्रुका स्वास्थ्य जाँच गर्न र त्यसका लागि आवश्यक डाक्टर र उपकरणको तत्काल व्यवस्था गर्नसमेत निर्दशन दिनुभएको छ ।