काठमाडौं तत्काल नखुल्ने, अरू जिल्लामा संक्रमणको अवस्था हेरी लकडाउन खुकुलो/कडा बनाउने तयारी

काठमाडौं तत्काल नखुल्ने, अरू जिल्लामा संक्रमणको अवस्था हेरी लकडाउन खुकुलो/कडा बनाउने तयारी

कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समिति बैठकले गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार गर्न निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो।

‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ’,समिति बैठकमा उपस्थित एक मन्त्रीले भने।

अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने/कडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने ती मन्त्रीले बताए।

‘लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भयो,’ ती मन्त्रीले भने।

पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ।

लकडाउन खुकुला भएका ठाउँमा एउटा जिल्लाभरि प्रोटोकल अनुसार सवारी साधन चलाउने, पसलहरू खुला गर्ने लगायतका कामहरूका लागिअ अनुमति दिन सकिने ती मन्त्रीले बताए।

उनका अनुसार एउटा जिल्लाबाट अर्को जिल्लामा जान भने पाइने छैन। राजधानीमै संक्रमण फैलिएमा यहाँको जनघनत्वले गर्दा समस्या आउन सक्ने भएकाले काठमाडौंमा भने लकडाउनको मोडालिटी परिवर्तन नगर्ने सरकारको तयारी छ।

समन्वय समितिमा लकडाउनलाई सात दिन थप्नुपर्ने सुझाव समेत आएको छ। मंगलबार प्रधानमन्त्रीले समन्वय समितिका सदस्य र सम्बन्धित अन्य मन्त्रीहरूसँग छलफल गरेर यसबारे टुंगो लाग्ने बताइएको छ।

नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन्।

बिदेशमा आज

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण रसियामा हालसम्म १ हजार ३५६ जनाको मृत्यु भएको छ ।

रसियामा एकैदिन थप ७६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ३५६ पुगेको हो ।

रसियामा एकैदिन थप १० हजार ५८१ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४५ हजार २६८ पुगेको छ ।

रसियामा संक्रमितमध्ये १८ हजार ९५ जना उपचारपछि निको भएका छन् । १ लाख २५ हजार ८१७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुमध्ये २ हजार ३०० जनाको अवस्था गम्भीर रहेको छ ।