सीमा नाकामा कडाई गर्न प्रधानमन्त्रीको निर्देशन

सीमा नाकामा कडाई गर्न प्रधानमन्त्रीको निर्देशन

 प्रधानमन्त्री केपी ओलीले सीमा नाकाहरुमा कडाई गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भारतबाट कोरोना भित्रिन नदिन सिमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने पनि बताएका थिए । भारतमा लकडाउन लम्बिँदा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने सम्बन्धमा ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएको पनि एक मन्त्रीले बताएका छन् ।

भारतसँगको नाकाहरु सिल गरिए पनि लुकिछिपी मान्छेहरू आइरहेका सन्दर्भमा भारतीय पक्षसँग पनि छलफल गरी कडाई गर्न प्रधानमन्त्री ओलीले भनेका हुन् ।

यता चैत ११ गते निरन्तर रहेका देशव्यापी लकडाउनको अवधि वैशाख २५ गते सकिने भएकाले त्यसपछि के गर्ने भन्नेमा सरकारले विभिन्न मोडालिटीमा छलफल पनि थालेको छ ।

वैशाख २५ पछि जिल्लाहरुमा देखिएको जोखिमका आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याएर केही खुकुलो बनाउनेबारे छलफल भइरहेको बताइएको छ ।