मध्ये रातमा आगलागी सात घर जलेर नस्ट

मध्ये रातमा आगलागी सात घर जलेर नस्ट

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा गएराति लागेको आगो साढे ७ घण्टामा नियन्त्रणमा आएको छ ।

गएराति १० बजेदेखि फुङलिङ बजारको एक होटलबाट लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आउँदासम्म ७ घर जलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो ।

आगो दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा साढे ७ घण्टामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक घरबाट अर्को घरमा फैलन नदिने गरी २ घण्टाजतिमा आगो नियन्त्रणमा लिइए पनि पूर्णरुपमा निभाउन भने विहान साढे ५ बजेसम्म लागेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

हरेक वर्षजस्तो आगलागी हुँदै आएको ताप्लेजङमा यसअघि २०७१ सालको आगलागीमा ९० परिवार विस्थापित भएका थिए ।

यो पनि पढ्नुहोस

नेपाल टेलिकमको ई-शिक्षा प्याकेज, पाँच सय रुपैयाँमा १५ जीबी डाटा

विद्यालय तथा विश्व विद्यालयमा हुने अनलाइन अध्ययन अध्यापनलाई सहज बनाउन नेपाल टेलिकमले ई-शिक्षा प्याकेज ल्याएको छ ।

नेपाल टेलिकमले देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयहरुबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायहरुसँग परामर्शको आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरहरुलाई विद्यमान बजार मूल्यभन्दा निकै सस्तो दररेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई–शिक्षा प्याकेज ल्याएको हो ।

विशेष ई-शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जीबी ५ सय रुपैयाँमा १५ जीबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । २ सय ६० रुपैयाँमा प्राप्त हुने कुल ६ जीबीमध्ये ३ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टा प्रयोगमा ल्याउन सकिने छ भने बाँकी ३ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।

यसैगरी ५ सय रुपैयाँ मा २८ दिनसम्म उपलब्ध हुने १५ जीबी डाटामध्ये ६ जीबी डाटा बिहान ५ बजेदेखि बिहान १० बजेसम्म प्रत्येक दिन जम्मा ५ घण्टामात्र प्रयोग गर्न सकिने छ । बाँकी ९ जीबी डाटा जुनसुकै समयमा प्रयोग गर्न सकिने छ ।

ई–शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रीजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।

बिहान ५ बजेदेखि १० बजेसम्म प्रत्येक दिन ५ घण्टासम्म प्रयोग गर्न सकिने डाटा सुविधालाई कम्पनीको सिस्टमबाटै व्यवस्थित गरिने टेलिकमले जनाएको छ ।

अहिलेको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका यी सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिसका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ ।

कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिस पठाउनु पर्ने टेलिकमले जनाएको छ ।

सिफारिस प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिनेछ ।