अमेरिकी राष्ट्रपति ट्रम्पले गरे ग्रीनकार्डको अनुमति स्थगनको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे ग्रीनकार्डको अनुमति स्थगनको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् ।

अनुमति दिने व्यवस्थालाई अस्थायी रूपमा निलम्बित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यो व्यवस्था ६० दिनसम्म रहने घोषणा गरेका छन् ।

उनले केही ग्रीनकार्ड निलम्बन गर्ने यो अस्थायी आदेश आवश्यकता परेमा अरु लम्ब्याउन सकिने पनि उल्लेख गरेका छन् । कोरोना भाइरसका कारण अर्थव्यवस्थामा परेको असर र अमेरिकी नागरिकको रोगजारी सुरक्षित गर्न यो आदेश ल्याउनु परेको ट्रम्पले जनाएका छन् ।

ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा उनले अर्थव्यवस्था खुलेलगत्तै बेरोजगार अमेरिकीको रोजगारी सुनिश्चित गर्नु पहिलो काम भएको बताए । 
नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका अगाडि कोरोना भाइरसले ल्याएको संकटलाई उपयोग गर्दै ट्रम्पले आप्रवासनसम्बन्धि आफ्नो कडा नीति लागू गरेको आलोचकहरुले बताएका छन् ।

यो आदेशले अमेरिकाले प्रदान गर्ने हजारौंहजार अस्थायी भिसामा भने कुनै असर नपर्ने जनाइएको छ । यो छूट अमेरिकी नागरिकका पति, पत्नी, बच्चाले पाउने छन् । यो आदेशभन्दा पहिले नै अमेरिकामा ग्रीनकार्डका लागि आवेदन दिने डाक्टर, नर्स र अरु स्वास्थ्य सेवाकाहरुलाई कुनै प्रभाव नपर्ने उल्लेख छ ।

तर यो आदेशले ग्रीनकार्डवालाले आफ्ना विस्तारित अरु परिवारलाई प्रायोजन गर्ने नीतिलाई भने रोक्ने छ । यद्यपि, राष्ट्रपतिको यो आदेशको कानुनी रुपमा अदालतमा मुद्दा पर्नसक्ने जनाइएको छ ।