धनुषामा फेला परेका २ कोरोना संक्रमित २ महिनाअघि नै भारतको मुम्बईबाट फर्केर आएको पाइएको छ । मुम्बईबाट उनीहरु घर नआई चितवन गएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेका धनुषाका थप २ पुरुष संक्रमित नगराइन नगरपालिका–१, घोरघासका हुन् । केही महिनाअघि यी दुवै जना भारतको मुम्बई गएको र फागु पूर्णिमाको समयमा चितवन फर्केका थिए ।
संक्रमित २० वर्षीय युवक चितवनमै ओभरसयर अध्ययन गर्दै आएका थिए । अध्ययनकै क्रममा पढाइ छाडेर उनी संक्रमित भनिएका ३५ वर्षीय व्यक्तिसँग भारतको मुम्बई गएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
‘उनीहरु २ महिनाअघि नै मुम्बईबाट आएको र घर नआई सीधै चितवन गएको खुल्न आएको छ,’ निरौलाले भने, ‘उनीहरू गत वैशाख ३० गते चितवनबाट घर आएका थिए ।’
मुम्बईबाट चितवन हुँदै घर आएका दुवैलाई नगराइनस्थित गांगुली क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै स्वाब संकलन गर्दा दुवै जना पोजेटिभ देखिएको बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले दुवैलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याइसकिएको बताए ।