देशको प्रमुख प्रशासनीक केन्द्र सिंहदरबारमा चिनियाँ नागरिक र नेपाल प्रहरीबीच झडप भएपछि चिनियाँ दूतावासले नेपालको नीति नियम पालन गर्न आफ्ना देशका नागरिकलाई अनुरोध गरेको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै घर फर्कन पाउनुपर्ने माग राख्दै सिंहदरबारमा प्रदर्शन गर्ने चिनियाँहरुलाई नेपालको नीति–नियम पालना गर्न आग्रह गरेको छ ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा रहेका चीनका नागरिकसँग कडा रुपमा नेपालको नीति–नियम पालना गर्न चिनियाँ पक्षले सधैं भन्ने गरेको छ, उनीहरुलाई कानूनसम्मत रुपमा तर्कसंगत माग राख्न भनिएको छ ।’
यो पनि पढ्नुहोस्
सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक
चिनियाँ दूतावास र नेपाल प्रहरीको सहकार्यमा सिंहदरबारमा शुक्रबार भएको चिनियाँ नागरिकको विरोध प्रदर्शनसम्बन्धी घटनाको सम्बोधन गरिएको दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै आफ्ना देशका नागरिकलाई संयम हुन आग्रह गरेको हो ।
जारी विज्ञप्तिमा सीमित उडान सामथ्र्यका कारण आफ्ना केही नागरिक अझै नेपालमै अलपत्र परेको र ३१ मेइ सम्मका लागि नेपाल सरकारले नियमित अन्तर्राष्ट्रिय उडान रद्द गरेपछि ती नागरिकले घर फर्कन पाउनुपर्ने माग विभिन्न च्यानलमार्फत गरेको उल्लेख छ ।
दूतावासका प्रवक्ताले विविध कठिनाइका कारण नेपालमा अलपत्र परेका झन्डै ३ सय ४० जनालाई घर फर्काइएको बताएका छन् ।
यस विषयमा नेपाली पक्षसँग संवाद भइरहने र नेपाल र चीनले एकअर्कालाई बुझेर लकडाउन नियमका कारण उत्पन्न विभिन्न घटनालाई संयुक्त रुपमा सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ दूतावासले लकडाउनको समयमा नेपालको नीतिनियम पालना गर्नका लागि चिनियाँ नागरिकलाई पटक–पटक स्मरण गराएको छ र अनाश्यक रुपमा बाहिर ननिस्कन भनेको विज्ञप्तिमा उल्लेख छ ।