वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ ।
कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो। त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको थियो। तीन हजार भन्दा बढी नेपालीले आवेदन दिएको दूतावास अधिकारीले जानकारी दिए।
साउदी अरेबियाले पनि कोभिड अघि घोषणा गरेको एम्नेष्टी खोल्न सक्नेछ भने त्यस्तै एमनेस्टी यूएईले पनि गर्न सक्ने दूतावास अधिकारीले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
यसै बीच
साउदीको जेद्दा क्षेत्रमा ३६ जना नेपाली श्रमिकमा कोरानो सङ्क्रम देखिएको छ । जसमध्ये दुई जना निको भएको र बाँकी ३४ जनाको उपचार भइरहेको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये ३४ जना पुरुष र २ जना महिला रहेका छन् ।
१५ जनाको अस्पतालमा उपचारपछि अहिले होटल र मदरसामा राखिएको छ । उनीहरुलाई अस्पतालको सेवा नचाहिने तर पूर्ण रुपमा निको नभइसकेकाले आइसोलेशनमा राखिएको महावाणिज्य दूत पौडेलले बताउनुभयो ।
९ दिन अस्पताल बसेपछि दुई महिलामध्ये एक जना पनि निको हुने क्रममा हुनुहुन्छ । अहिले १९ जनाको भने अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचारतमध्ये एक जनाको आईसीयूमा र बाँकी १८ जनाको अवस्था सामान्य छ ।
सङ्क्रमित सबैजसोसँग नियमित आफूले फोनमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको र सबैको अवस्था सामान्य नै रहेको महावाणिज्य दूत पौडेलले बताउनुभयो ।
उहाँका अनुसार, उपचारत सबै नेपालीलाई खान, बस्न र अन्य आवश्यक सुविधामा साउदी सरकारले आफ्ना नागरिक र विदेशी भने विभेद गरेको छैन । निको हुने चरणमा रहेकालाई पनि खाना, फलफूलदेखि तातोपानी लगायत सबै व्यवस्था साउदीले नै गरेको छ ।
‘म आफैंले फोनमा कुरा गर्दा पनि उहाँहरुले हामीले राम्रो उपचार पाइरहेको बताउनुभएको छ,’ महावाणिज्य दूत पौडेलले भन्नुभयो, ‘आशा छ उहाँहरु पनि चाँडै नै निको हुनुहुनेछ ।’
साउदी सरकारले गुणस्तरीय उपचार गरिरहेकाले साउदीमा सङ्क्रमित हुने नेपालीका परिवारलाई नआत्तिन र चिन्ता नलिन उहाँले आग्रह गर्नुभएको छ ।
बरु आफ्ना मानिसलाई साउदी सरकार र दूतावासले जारी गरेका सूचना पढ्न र नियम मान्नका लागि हौसला दिन उहाँले आग्रह गर्नुभयो ।
‘साउदीमा सङ्क्रमित नेपालीको सङ्ख्या थोरै छ, तपाईँको आफन्तलाई नआत्तिन, नडराउन भन्नुहोस्, सङ्क्रमण भइहाले तत्काल उपचार हुन्छ,’उहाँले आग्रह गर्दै भन्नुभयो, ‘आफ्ना मानिसलाई आँट भरोसा दिनुहोस्, सम्झाउनुहोस्, सङ्क्रमण भए पनि निको हुन्छ, यहाँको उपचार पद्धती राम्रो छ ।’
साउदीको अन्य क्षेत्रमा अहिलेसम्म पाँच नेपालीमा कोरोना सङ्क्रमण भएको र पाँचै जना निको भएको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
थप नेपालीमा कोरोना सङ्क्रमण भएको आधिकारिक जानकारी नआएको दूतावासको भनाई छ । कुनै समस्या परेका दूतावासमा सम्पर्क गर्न र नआत्तिन साउदीमा कार्यरत सबै नेपालीलाई दूतावासले आग्रह गरेको छ ।