कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

कोरोना कहरः इटालीमा एकैदिन ९ सय बढीको मृत्यु, संक्रमण नियन्त्रणमा हेलचेक्र्याई गरे भयावह अवस्था हुने विज्ञहरुको चेतावनी

विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण इटालीमा एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना महामारी फैलिएपछि एकैदिन यति ठूलो संख्यामा मानिसको मृत्यु भएको यो पहिलो पटक हो । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ९ हजार १ सय ३४ पुगेको छ ।

करिब ६ हजार नयाँ संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ८६ हजार ५ सय पुगेको छ ।

शुरुमा संक्रमण नियन्त्रणमा लापरवाही गरेको आरोप लागेको इटालीमा पछि यसको चर्को मुल्य चुकाउनु परिरहेको छ ।

विज्ञहरुले कोरोना संक्रमण नियन्त्रणमा कुनै पनि मुलुकले अझै पनि हेलचेक्र्याई गरे उनीहरुको अबस्था यो भन्दा भयावह हुने चेतावनी दिइरहेका छन् । विश्वभर २७ हजार २ सय ५१ जनाको मृत्यु भएको छ ।

५ लाख ९४ हजार ३ सय ४४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ३२ हजार ६ सय २२ जना उपचारपछि निको भएका छन् । इरानमा २ हजार ३ सय ७८ व्यक्तिको मृत्यु भइसकेको छ भने ३२ हजार ३ सय ३२ जना संक्रमित छन् ।

स्पेनमा थप ७ सय ७३ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ । संक्रमितको संख्या ६५ हजार ७ सय १९ पुगेको छ ।

अमेरिकामा थप ३ सय १२ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या १६ सय ७ जनाको मृत्यु भएको छ भने एक लाख २३ हजार ९६ जना संक्रमित छन् ।

फ्रान्समा १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ । ३२ हजार ९ सय ६४ संक्रमित छन् । दक्षिण कोरियामा कोरोना संक्रमणको फैलावट रोकिएको देखिएको छ ।

त्यहां मृतक र संक्रमितका संख्या बढेको छैन । मृतकको संख्या १ सय ३९ र ९ हजार ३ सय ३२ संक्रमित छन् ।

यता ३ साता लामो लकडाउनमा रहेको भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० र संक्रमितको संख्या ८ सय ८७ पुगेको छ ।

यता, चीनबाट सन् २०१९ को डिसेम्बरमा फैलिएको कोरोना भाइरसबाट विश्वका १९९ राष्ट्र प्रभावित भएका छन् ।