लकडाउनको उल्लंघन गर्नेलाई गाउँ प्रवेशमा रोक

लकडाउनको उल्लंघन गर्नेलाई गाउँ प्रवेशमा रोक

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्नेलाई स्थानीय युवाहरुले गाउँ प्रवेशमा रोक लगाएका छन् ।

सिरहाका केही गाउँका युवाले सडकमै बार लगाएर आवागमन रोकेका हुन् । सिरहाको लहान नगरपालिका– १६ तरेगना, गोलबजार नगरपालिका–२ गुरुधाम, सखुवानन्कारकट्टी गाउँपालिका–२ जगतपुर र नरहा गाउँपालिका–२ पानबारीका युवाले सडकमै बार लगाएर गाउँमा आवतजावत बन्द गराएका हुन् ।

सरकारले लकडाउन गरेपनि गाउँघरमा सर्वसाधारणको चहलपहल नघटेको र अन्य गाउँबाट समेत मानिस आउने जाने गरिरहेकाले लक डाउनको समयमा आवगमन रोक्न यस्तो गरेको तरेगनाका युवा रामदयाल महतोले बताए । लक डाउनको समयमा सर्वसाधारणको आवतजावत र अन्य गाउँबाट समेत व्यक्ति आउने गरेकाले कोरोना भाइरसको सङ्क्रमण भित्रिन सक्ने जोखिमका कारण यस्तो गर्नुपरेको उनको भनाइ छ ।

युवाले सडकमै बार लगाएपछि सडकमा सवारी आवागमन रोकिएको छ भने अन्य गाउँबाट समेत सर्वसाधारण आउने क्रम रोकिएको जनाएको छ । यसका साथै भारतसहित अन्य देशबाट फर्केर गाउँमै बसेकालाई समेत खोजी गरी युवाले क्वारेन्टाइनमा पठाउन सहयोग गरिरहेका छन् ।

यसैबीच कोभिड–१९ सङ्क्रमित देशबाट आउने र शङ्कास्पद बिरामीका लागि सिरहाको सबै स्थानीय तहले क्वारेन्टाइन तयार पारेका छन् । सिरहाका १७ वटै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरिसकेका छन् ।

भारतसहित कोरोनाबाट प्रभावित अन्य मुलुकबाट आएकाको विवरण सङ्कलन गरी स्थानीय तहले विदेशबाट फर्केकालाई धमाधम क्वारेन्टाइनमा राख्न थालेका छन् । सिरहाको बरियारपट्टि गाउँपालिकामा ६, गोलबजार नगरपालिकामा एक, विष्णुपुर गाउँपालिकामा सात र भगवानपुरको आभेनगरमा तीनजनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अञ्जेश्वर चौधरीले जानकारी दिए ।

उनका अनुसार क्वारेनटाइनमा राखिएकाको अवस्था अहिलेसम्म सामान्य रहेको छ । गम्भीर प्रकृतिको बिरामी आएको खण्डमा जिल्लाका विभिन्न पाँच ठाउँमा स्थापना गरिएको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

गत चैत ११ गते कोरोना भाइरसको आशङ्कामा औरहीका १ जना युवालाई थप उपचारका लागि काठमाडौँको टेकु पुर्‍याए यता जिल्लामा त्यस्तो प्रकृतिको कुनै बिरामी आएकोे सूचना नआएको अधिकृत चौधरीको भनाइ छ ।