कोरोना प्रकोप : इटालीमा ३७ जना डाक्टरको मृत्यु, स्पेनमा मृतकको संख्या ४ हजार बढी

कोरोना प्रकोप : इटालीमा ३७ जना डाक्टरको मृत्यु, स्पेनमा मृतकको संख्या ४ हजार बढी

रोम — इटालीमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु हुने चिकित्सकको संख्या ३७ पुगेको छ । कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको इटालीको संघीय चिकित्सक संघले दिएको जानकारीअनुसार बिहीबार बेलुकासम्म ३७ जना चिकित्सकको मृत्यु भइसकेको छ । 

इटालीका चिकित्सकहरुले आफूहरु निकै कठिन परिस्थितिसँग सामना गरिरहेको बताएका छन्। संक्रमितको बढ्दो संख्या र देशव्यापी रुपमा संक्रमण बढेसँगै इटालीको अवस्था भयावह बनेको छ।

बिहीबार साँझसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ। त्यस्तै इटालीमा ७४ हजार ३ सय ८६ जना संक्रमित हुँदा करिब ९ हजार निको भएका छन्।

स्पेनमा मृत्यु हुनेको संख्या ४ हजार नाघ्योइटालीपछि सबैभन्दा बढी कोरोना भाइरसको चपेटामा परेको स्पेनमा बिहीबार साँझसम्म ४ हजार ८९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा ६ सय ६५ जनाको मृत्यु भएको छ। बुधबारभन्दा बिहीबार मृतकको संख्या केही घटे पनि अवस्था भयावह नै छ। बिहीबार भने स्पेनमा अहिलेसम्मकै बढी ७ सय ३८ जनाको मृत्यु भएको थियो। स्पेनमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ७३ जनामा संक्रमण देखिएको छ।बिहीबार साँझसम्म स्पेनमा संक्रमितको संख्या ५६ हजार १ सय ८८ पुगेको छ। मार्च १३ देखि पुरै लकडाउन गरेर कोरोनाको महामारी नियन्त्रणका लागि कदम चाले पनि सफल हुन सकेको छैन। स्पेनले नेटो, अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी संघसंस्थालाई औषधि र व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) लगायतका सामग्री उपलब्ध गराइदिन आग्रह गरेको छ।


त्यस्तै चीन र इटालीपछि सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा बिहीबार साँझसम्म एक हजार ३७ जनाको मृत्यु भएको छ। अमेरिकामा अहिलेसम्म ६८ हजार ८ सय १४ जनामा संक्रमण देखिएको छ। अमेरिकामा कोरोना भाइरसको संक्रमण बुलेट ट्रेनको गतिमा बढिरहेको र बेलैमा सचेत नभए यसले भयावह रुप लिने न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले चेतावनी दिएका छन्।


त्यस्तै बिहीबार साँझसम्म कोरोना संक्रमणबाट इरानमा २ हजार २ सय ३४, चीनमा ३ हजार २ सय ८७, फ्रान्समा एक हजार ३ सय ३१, बेलायतमा ४ सय ६५, नेदरल्यान्ड्समा ४ सय ३४, स्विजरल्यान्डमा १७१, बेल्जियममा २२० र दक्षिण कोरियामा १३१ जनाको मृत्यु भएको छ।


गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले पुरै विश्वभर फैलिइसकेको छ। बिहीबार साँझसम्म विश्वभर चार लाख ९० हजारभन्दा बढी यस भाइरसबाट संक्रमित भएका छन् भने २२ हजार एक सय ५६ जनाको मृत्यु भएको छ। त्यस्तै एक लाख १८ हजारभन्दा बढी निको भएका छन्।