नेपालमा रहेका युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने

नेपालमा रहेका युरोपेली देशका नागरिक लैजान चार्टर विमान काठमाडौं आउने

युरोपेली देशहरुले नेपालमा रहेका आफ्ना नागरिकहरु फिर्ता लैजान चार्टर विमान पठाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सम्भवतः शुक्रबार केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने छन् ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमणको त्रासका बीच फ्रान्स र जर्मनीले आफ्ना देशका नागरिक लैजान चार्टर विमान काठमाडौं पठाउन लागेका हुन् ।

जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ । शुक्रवार र शनिवार ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी गरिएको छ ।

युरोप फर्किन चाहनेलाई जर्मन दूतावासको वेवसाइटमा रहेको फर्म भर्न आह्वन गरिएको छ ।

अहिले जर्मन र फ्रेन्च नागरिक गरी करिब ७ सय जना काठमाडौंमा छन् । यस्तै, नेपालस्थित फ्रान्स दूतावासले बुद्ध एयरको विमान चार्टर गरी पोखराबाट आफ्ना ५० जना नागरिकलाई काठमाडौं पुर्‍याउँदै छ ।

नेपालमा रहेका व्यक्तिका परिवारको विशेष चासोपछि उनीहरुलाई स्वदेश फिर्ताको वातावरण बनाउन लागिएको हो ।

यस्तै, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि नेपालमा रहेका आफ्ना नागरिक फिर्ताका लागि चार्टर विमान पठाउने तयारी गरेका छन् ।

तर, ती देशबाट कुन मितिमा विमान आइपुग्छ भन्ने विषय भने टुंगो लागेको छैन । ‘अहिले अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले आफ्ना नागरिक फिर्ता लैजान चासो दिएका छन् । डिप्लोम्याटिक सर्कल (कूटनीतिक क्षेत्र)मा यसबारे छलफल भइरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने ।