लकडाउन: हाम्रो कर्तव्य

लकडाउन: हाम्रो कर्तव्य

मनोज घिमिरे, चितवन, चैत्र १२ ।

कोरोना भाइरसको संक्रमण कसरी हुन्छ र संक्रमण हुनबाट बच्न के गर्ने भन्ने बिषयमा थुप्रै जानकारीहरु आएका छन्। डाक्टर, बिशेषज्ञ तथा विश्व स्वास्थ संगठन (डब्लुएचओ) बाट प्राप्त सल्लाह सुझाव आम मानिसमाझ पुर्‍याउन देश तथा विदेशका संचारमाध्यमहरुले निकै ठूलो भूमिका निर्वाह गरे। अन्य देशहरुले भोगिरहेको डरलाग्दो अवस्थाका कारण सरकारलाई नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलनभन्दा पहिला सम्पूर्ण सुरक्षाको विधि अपनाउनुपर्ने कुरामा पनि संचार माध्यमहरुले सजक बनाए। भर्खरै मात्र फेरि नयाँ १ सहित जम्मा २ जना नेपालीमा संक्रमण देखिने बित्तिकै रोग फैलन सक्ने अवस्थालाई मध्यनजर गरि सरकारले यही चैत्र ११ गतेदेखि सिङ्गो देशलाई नै लकडाउन गरेको छ।

केही दिन अगाडिसम्म कोरोना संक्रमण नेपालमा कहिल्यै भित्रिँदैन जस्तो गरि निस्फिक्री रहेका हामी अहिले भने थोरै भए पनि त्रसित हो कि जस्तो भान हुन्छ। देश लकडाउनमा छ। अनि हामी चोक र गल्लीमा। सरकारले सम्पूर्ण नागरिकलाई घरभित्र बस्न निर्देशन दिइरहेको छ। हामी भने अटेर गरि रोडरोड हिँडदै रमिते बनी राखेका छौँ। चीनमा करिव तीन हजार २८१ जना मानिसले ज्यान गुमाउने गरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण आज विश्वका करिब सबै देशमा फैलिएको छ। हालसम्म करिब १८ हजार ९१० जनाले ज्यान गुमाइसकेका छन्। विश्वका धेरै देशहरु लकडाउन छन्। नागरिक आफ्नो घरभित्र छन्। रोगसँग आत्तिएका छन्। संक्रमण न फैलियोस भनेर सरकारको निर्देशन पालाना गरिरहेका छन्। के हामीले संक्रमणबाट बच्नका लागि अरू देशका नागरिकले जस्तै सरकारको निर्देशन पालाना गरिरहेका छौँ त ?

हिजो केही देशका नागरिकले आज हामीले अटेर गरेजस्तै गर्दा निकै धेरैले ज्यान गुमाएको दृश्य हाम्रो आँखा अगाडि छर्लङगै छ। सरकारको निर्देशन पालन गरि घरबाट बाहिर नआएकै कारण आज चीनले यस रोगमाथि नियन्त्रण हासिल गरेको हो। सायद अब हामीलाई कोरोना संक्रमणबाट बच्न के गर्नुपर्छ भन्ने कुरा सम्पूर्णरुपमा जानकारी भइसकेको छ। तपाईं हामीलाई सजग बनाउदै संचार माध्यमबाट आउने सही खबरबाट आत्तिनुभन्दा पनि जानकारीमा नआउने खवर भयावह हुन्छ भन्ने कुरालाई बिर्सनु हुँदैन।

चैत्र १२ गते बुधवार पुनः १ जना नेपालीमा संक्रमण देखिएपछि नेपालमा पनि जम्मा ३ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ।। अब हामी मुर्ख नबनौँ। अनुशासनको पालना गरौं। हामीलाई प्राप्त जानकारी र निर्देशनलाई पूर्णरूपमा अपनाउनु र पालना गर्नु एक असल नागरिकको कर्तव्य हो। तपाईँ हामीलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर राज्यको सम्पूर्ण संयन्त्र सरकार, प्रहरी प्रशासन, सुरक्षाकर्मी, अस्पताल, स्वास्थकर्मी, संघसस्था तथा संचारगृह लागिरहँदा तपाईँ हाम्रो कर्तब्य भनेको आफ्नो घरमा लकडाउन हो। कोरोना भाइरसबाट बच्ने एक मात्र उपाय भनेको घरमा सुरक्षित बस्नु नै हो। यो सत्यलाई थाहा पाएर पनि आफू र आफ्नालाई सुरक्षित राख्नका लागि तपाई हामी यो महामारीको समयमा अनुशासित बन्न सकेनौँ भने तपाईँ हाम्रो सिङ्गो परिवार तथा समाजका लागि बिडम्बना हुने छ।

त्यसैले लकडाउनको पूर्ण पालना सबैले गरौं। बाहिर ननिस्कौँ, घरमै बसौं। घरमा बसिरहदा यदि तपाईँलाई टाउको दुख्ने, कडा जोरो आउने, घाँटी दुख्ने र श्वासप्रस्वासमा समस्या आउने जस्ता समस्या देखिएमा तुरुन्तै नजिकैको अस्पताल वा डाक्टरको सल्लाह लिऔँ। अत्यावश्यक कामबाहेक आफ्नो घरबाट बाहिर नजाऔँ। बचौं र बचाऔँ।
जनहितमा जारी