कोरोना भाइरसः संक्रमण रोक्न सरकारले उच्च सतर्कता अपनाउने, विमानस्थलमा प्रत्येक यात्रुको चेकजाँच गरिने

कोरोना भाइरसः संक्रमण रोक्न सरकारले उच्च सतर्कता अपनाउने, विमानस्थलमा प्रत्येक यात्रुको चेकजाँच गरिने

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो ।

कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ ।

बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण गरेको छ ।

उक्त समितिमा स्वास्थ्य, पर्यटन, गृह, शिक्षा लगायतका मन्त्रीहरु रहेका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाँचका उपकरण र औषधीहरु पर्याप्त मात्रामा भण्डारण गर्न र त्यसका लागि चिकित्सहरुलाई समेत तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

त्यस्तै बैठकमा संक्रमण फैलिएका देशबाट हुने उडान रोक्ने विषयमा समेत छलफल भएको जनाइएको छ । 

उक्त  समितिले यो विषयमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने छ ।

केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको मुलुक भनेको थियो ।

यसअघि कोरोना भाइरसको संक्रमण एक नेपालीमा पनि भेटिएको थियो । तर उनी उपचारपछि स्वस्थ्य भइसकेका छन् ।