मृत्युदण्डबारे प्रतिबन्धित निर्देशकले बनाएको चलिचत्र बन्याे सर्वोत्कृष्ट चलचित्र

मृत्युदण्डबारे प्रतिबन्धित निर्देशकले बनाएको चलिचत्र बन्याे सर्वोत्कृष्ट चलचित्र

इरानी निर्देशकले मृत्युदण्डको विषयमा बनाएको चलचित्रले बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । मोहम्मद रासोउलोफमाथि इरानले सन् २०१७ मा निर्देशन गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

तर उनले त्यसपछि ‘देअर इज नो इभिल’ चलचित्र बनाए । मृत्युदण्डका विषयमा रहेको यो चलचित्रको निर्देशन तथा स्क्रिनप्ले मोहम्मदको हो । उनको यो छैटौँ चलचित्र हो र यो चलचित्र उनले गोप्य रुपमा बनाएका हुन् ।

इरानले निर्देशकमाथि देश बाहिर जान नपाउने गरी यात्रा प्रतिबन्ध लगाएको छ । जसका कारण उनी सर्वोत्कृष्ट चलचित्रको अवार्ड उचाल्न बर्लिन पुग्न सकेनन् । निर्देशककी छोरी बारानले अवार्ड उचालिन् । बारान चलचित्रकी अभिनेत्री पनि हुन् ।

मृत्युदण्डका चार कथा समेटिएको चलचित्रले अधिनायकवादी सत्ताको सर्वासाधारण नागरिकमा परेको प्रभावलाई देखाएको जुरीका अध्यक्ष जेरेमी आइरन्सले बताएका छन् ।

अमेरिकामा गर्भपतनबारे एजिजा हिट्म्यानले निर्देशन गरेको चलचित्र नेभर रेअरली समटाइम्स अल्वेजले दोस्रो स्थान हाँसिल गरेको छ ।