संक्रमितमध्ये ९ जना एकै परिवारका, कपिलवस्तुका ८ मध्ये ३ सुरक्षाकर्मी

संक्रमितमध्ये ९ जना एकै परिवारका, कपिलवस्तुका ८ मध्ये ३ सुरक्षाकर्मी

रुपन्देहीमा बुधबार पुष्टि भएका १२ कोरोना संक्रमितमध्ये ९ जना एउटै परिवारका छन्। रुपन्देहीको गैंडहवा गाउँपालिका-२ जोगडाका उनीहरू वैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर आएका थिए।

एउटै परिवारका १७ जना मुम्बईबाट आए पनि परिवारका ९ जनामा संक्रमण पुष्टि भएको हो। उक्त परिवारसँगै मुम्बईबाट आएका सोही टोलका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू सबै मुम्बईबाट आई सिधै गाउँपालिकाको वडा-२ स्थित जोगडा माविमा बनाइएको क्वारेन्टाइनमा गएका थिए।

दस संक्रमितमध्ये सात पुरुष र तीन महिला छन् जसको उमेर समूह ४ देखि ४१ वर्ष छ।

त्यसैगरी रुपन्देहीमा संक्रमण पुष्टि भएका अन्य दुई जनामध्ये एक कपिलवस्तुका र एक भारतीय नागरिक रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्ट्रल कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

भारतीय नागरिक शैक्षिक तालिम केन्द्र, भैरहवाको क्वारेन्टाइनमा रहेका बखत ज्वरो आएपछि भैरहवास्थित भिम अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए। त्यस्तै कपिलवस्तुको महेन्द्र मावि क्वारेन्टाइनमा बसेका पुरुष पनि ज्वरो आएपछि भिम अस्पतालमै भर्ना भएका थिए।

उनीहरू सबैको अवस्था सामान्य रहेको शाहले जानकारी दिए।

रुपन्देहीका संक्रमितहरूको भैरहवास्थित प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो। योसँगै बुधबारसम्म रुपन्देहीमा संक्रमित संख्या २८ पुगेको छ।

त्यस्तै कपिलवस्तुमा भेटिएका आठ जना संक्रमित कृष्णनगर नगरपालिकाका छन्। संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार संक्रमित सुरक्षाकर्मीहरू नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक एक, शसस्त्र प्रहरी नायब निरीक्षक एक र राष्ट्रिय अनुसन्धानका सहायक निरीक्षक एक जना छन्।

ड्युटीमै रहेका उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पनि उनले जानकारी दिए। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको पौडेलले बताए।

त्यस्तै कपिलवस्तुका अन्य पाँच संक्रमित भने भारतबाट आएका र उनीहरू नगरपालिकाको महेन्द्र मावि क्वारेन्टाइनमा बसेका थिए। योसँगै कपिलवस्तुमा कुल संक्रमित संख्या ३८ पुगेको छ।

बुधबार दिउँसो पनि कपिलवस्तु नगरपालिका-४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो।

बुधबार प्रदेश ५ को नवलपरासीमा पनि एक जनामा कोरोना देखिएको छ। नवलपरासीको प्रतापपुरस्थित त्रिभुवन माविको क्वारेन्टाइनमा बसेका ३६ वर्षीय पुरुष पनि भारतबाटै आएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।

प्रदेश ५ मा रहेका तराईका ६ जिल्लामध्ये दाङबाहेक पाँचै जिल्लामा कोरोना संक्रमण देखिएको छ। हालसम्म प्रदेश ५ मा संक्रमित संख्या ९३ पुगेको छ।