कपिलवस्तुको जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना

कपिलवस्तुको जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्समा देखियो कोरोना

कपिलवस्तुमा संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्।

कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत रहेकी उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन।

तौलिहवाकै बासिन्दा उनी घरबाटै अस्पताल आउने/जाने गरेकी थिइन्। यसअघि अस्पतालका केही स्वास्थ्यकर्मीसँगै उनको पनि स्वाब परीक्षणका लागि पठाइएको थियो।

उनमा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी भएको बताइएको छ। नर्समा संक्रमण देखिएपछि कपिलवस्तुको अवस्था थप जटिल बन्दै गएको छ।

संक्रमण अस्पतालमै पुगेपछि कपिलवस्तुका पत्रकार पनि त्रसित छन्। हरेक दिन कोरोनाको रिपोर्टिङ गर्न सीमानाकाहरूमा पुगेका पत्रकारहरू सेल्फ क्वारेन्टाइनमा बस्ने तयारी गरेका छन्।

कपिलवस्तुका पत्रकार गोपाल भण्डारीले कोरोनाको संक्रमण फैलिएपछि तौलिहवास्थित कुनै होटलमा सेल्फ क्वारेन्टाइनमा बस्ने तयारी गरिएको जानकारी दिए।

कपिलवस्तुमा मंगलबार दिउँसो पुष्टि भएका संक्रमितहरू कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १/१ जना रहेका छन्। उनीहरू १९ वर्षदेखि ३६ वर्षसम्मका छन्।

कपिलवस्तुमा हालसम्म संक्रमण देखिएका २९ जनामा २८ जना सबै भारतबाट आएको भए पनि उनीमात्र यहीँ रहेको अवस्थामा संक्रमण देखिएको हो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले भने संक्रमण थपिएका आठ जना भएको भए पनि को कुन पेशाको हो भन्ने नखुलेको बताए।