२१७ जना पुगे कोरोना संक्रमित, फेरि थपिए २६ जना संक्रमित

२१७ जना पुगे कोरोना संक्रमित, फेरि थपिए २६ जना संक्रमित

नेपालमा थप २६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

मंगलबार दिउसो ५७ जनामा संक्रमण देखिएको थियो। साँझ थपिएका २६ जनासहित एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार पर्साका २२ देखि ६० वर्षका ६ जना महिला र १६ देखि ६१ वर्षका १२ जना पुरुष, महोत्तरीका १६ र ३५ वर्षका २ पुरुष, धनुषाका २० वर्षकी एक महिला र ४० वर्षका पुरुष, भक्तपुरकी २५ वर्षीय एक महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीय महिला र सर्लाहीकी ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या २ सय १७ पुगेको छ । कोरोना भाइरसको संक्रमण देखिएकामध्ये हालसम्म ३३ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।