लकडाउन सुरु भएयता देशभर सात सय बढीले गरे आत्महत्या

लकडाउन सुरु भएयता देशभर सात सय बढीले गरे आत्महत्या

नेपाल प्रहरीको तथ्याक अनुसार लकडाउन सुरु भएपछि देशभर झण्डै सात सय बढीले आत्महत्या गरेका छन् ।

लकडाउनको समयमा घर परिवारका व्यक्तिसँग भेटघाट गर्न नपाउने, आर्थिक अभाव, सामाजिक र एक्लोपन जस्ता समस्याका कारण आत्महत्या गर्ने बढेको देखिएको छ । प्रहरीले भने आत्महत्याको तथ्यांकमा खाशै फरक नपरेको जनाएको छ ।

कोरोना भाइरस संक्रमणको डर र लकडाउनका कारण धेरै मानिस घर भित्र नै थुनिएको अवस्थामा छन् ।

झन्डै दुई महिना देखी घर भित्र बस्नु पर्दा मनमा नकारात्मक सोच आउने, डराउने, आतिने जस्ता समस्या देखिन सक्छन् ।

झन परिवारवाट टाढा रहेकाहरु एक्लोपनको शिकार समेत भएका हुन सक्छन् ।

परिस्थितिसँग जुध्न नसकेका कारण दुई महिनाको अविधिमा ७ सय ११ जनाले आत्महत्या गरेका छन् ।

जसमा सबैभन्दा धेरै प्रदेश नम्वर ५ र १ मा रहेका छन् । प्रदेश नम्वर ५ मा १ सय ६६ जनाले आत्महत्या गरेका छन् भने १ नम्वर प्रदेशमा १ सय ३४ जना रहेका छन् ।

सबै भन्दा कम भने काठमाडौ उपत्यकामा रहेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले लकडाउनको समयमा आत्महत्या गर्नेको संख्या बढी देखिएको भन्न नमिल्ने भन्दै अन्य समय भन्दा फरक तथ्यांक नआएको बताए । मनोविद् डा. सरोज ओझाले विश्वका अध्ययनहरुले पनि जोखिम र संकटका समयमा आत्महत्या गर्नेको दर बढी देखिएको बताए ।

यस्तो समयमा मानिसको मन डराएको हुन सक्ने भन्दै रोगथामका लागि सरकारले जनचेतना फैलाउनु पर्ने बताउँछन् ।

तथ्याक अनुसार आत्महत्या गर्नेहरुमा पुरुष र किशोरीहरुको संख्या बढि रहेको छ ।

जसमा ३ सय ६० जना पुरुष रहेका छन् भने महिलाको संख्या २ सय ५७ रहेको छ । ७३ जना किशोरीले आत्महत्या गरेका छन् भने ३१ जना किशोर रहेका छन् ।

यस्तै प्रदेश नम्वर १ मा १ सय ३४ जना २ मा ८७ , वागमती प्रदेशमा ९५ जना रहेका छन् भने गण्डकी प्रदेशमा ७९ जना रहेका छन् ।

प्रदेश नम्वर ५ मा १ सय ६६ जना, कर्णली प्रदेशमा ४०, सुदुरपश्चिम प्रदेशमा ८२ र काठमाडौ उपत्यका भित्र भने ३६ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्ने व्यक्तिले पहिले नै केही लक्षणहरु देखाउने, आफनो समस्या भन्न खोज्ने, एक्लै बस्ने, खुसी नहुने जस्ता व्यवहारहरु देखाउने हुँदा परिवारका सदस्यहरुको सजक हुनु पर्ने मनोविद् डा.ओझा बताउँछन् ।

आत्महत्या रोक्न परिवार , समुदायको पनि ठुलो भुमिका रहन्छ । साथै मनमा नकारात्मक सोचाई आउन थालेको भने चिकित्सको सम्र्पकमा आउन चिकित्सकहरु सुझाव दिन्छन् ।