यूएईमा एकैदिन २२ जना नेपाली कामदारमा कोरोना भाइरस संक्रमणको पुष्टि

यूएईमा एकैदिन २२ जना नेपाली कामदारमा कोरोना भाइरस संक्रमणको पुष्टि

संयुक्त अरब इमिरेट्स (यूएई) मा एकै दिन २२ नेपाली महिला कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ।

यूएईको सारहजास्थित एक सफाइ कम्पनीमा कार्यरत ६१ महिला कामदार एकैपटक संक्रमित देखिएका हुन्।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाका अनुसार तीमध्ये २२ जना नेपाली महिला छन्।

कम्पनीमा १०० हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्। जो त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्।

एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार अहिलेसम्म यूएईमा १ सय ४९ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ६ जनाको मृत्यु भएको छ भने २७ जना निको भएका छन्।

यूएईमा अहिलेसम्म १६ हजार ७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १७४ जनाले ज्यान गुमाएका छन् ।