कपिलवस्तुका दुई कोरोना संक्रमित एक साताअघि भारतबाट आएको पुष्टि

कपिलवस्तुका दुई कोरोना संक्रमित एक साताअघि भारतबाट आएको पुष्टि

कपिलवस्तुमा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एकसाता अघि भारतबाट आएको पाईएको छ ।

१६ र २२ वर्षका ति युवक भारतको मुम्बईबाट एक साताअघि लुकेर जिल्ला प्रवेश गरेको देखिएको हो ।

खुला सिमानाको फाइदा उठाउँदै उनीहरु लुकेर नेपाल छिरेको थाहा पाएपछि स्थानीयले समातेर मायादेवी– एक पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा राखेका थिए । क्वारेन्टाइनबाट उनीहरुको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना भाइरसको भेटिएको पुष्टि भएको थियो ।

संक्रमित दुवै जनालाई बुटवलको आइसोलेसन अस्पतालमा भर्ना गरिएको छ ।

दुबैको अवस्था सामान्य रहेको छ । उनिहरु मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका हुन् । उनिहरुमा संक्रमण भेटिए पछि उनीहरुको सम्पर्क र भेटघाट को को सग भएको थियो सोधपुछ भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो सँगै प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने संक्रमितको संख्या २६ पुगेको छ । यसअघि बाकेको नेपालगन्जमा २३ र रुपन्देहीको कोटहिमाईमा एकजनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।