विदेशमा रहेका नेपालीलाई देश फर्काउन कांग्रेसको माग

विदेशमा रहेका नेपालीलाई देश फर्काउन कांग्रेसको माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपाली कामदारलाई स्वदेश ल्याउन र कोरोना परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर नेपालगन्जमा कोरोना परीक्षणलाई व्यापक रुप दिन र देशभर पिसिआर प्रविधिद्वारा द्रुत परीक्षण गर्न माग गरेका हुन् ।

सभापति देउवाले कुवेत सरकारको सेल्टरमा रहेका करिब ३ हजार तथा मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्दार गर्ने बारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न माग गरेका छन् ।

देउवाले सिमा नाकामा क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि धेरै नेपाली देश आउन नपाएको भन्दै उनीहरुलाई नेपाल आउने वातावरण बनाउन र भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने ब्यवस्था मिलाउन समेत माग गरेका छन् ।