क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएकाको कोरोना रिपोर्ट आयो

क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएकाको कोरोना रिपोर्ट आयो

 भारतबाट उद्धार गरि क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमै मृत्यु भएका बैतडीका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिवार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।

यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट २ हजार ६ सय ९५ नेपाली स्वदेश फर्किएका थिए ।

यसै बीच

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ८२ पुगेको छ ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षण अनुसार थप ७ जनामा नयाँ पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ निवासी वर्ष २२, ३०, ४० का पुरुष र वर्ष ०९, ३२, ३४ र ५५ की महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सातै जनाको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि एकै दिन १६ जनामा संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ३ दिनसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र तोकेको छ ।