मलेशियामा एघार नेपाली कोरोना सङ्क्रमित : कोही बेरोजगार, कोही जोखिम मोलेरै काम गर्दै

मलेशियामा एघार नेपाली कोरोना सङ्क्रमित : कोही बेरोजगार, कोही जोखिम मोलेरै काम गर्दै

कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण काम गर्दै आएको रेष्टुराँ बन्द गरिएपछि गोरखाका राजन गिरी होस्टलमा बसेको डेढ महिना भइसक्यो।

कोरोनाभाइरसको कहर कहिले सकिएला र काम गर्न पाइएला भन्ने आशामा उनको दिन बितिरहेको छ।

गिरी भन्छन्, ‘कोरोनाभाइरस साम्य भएपछि खुला गर्ने भनेका छन्। होस्टलमा बस्दा दिक्क लागिसक्यो । न घर जान पाइन्छ, न काम गर्न।’

तर मलेशियाकै एक आवासीय क्षेत्रमा सुरक्षा गार्डको काम गर्ने तनहुँका मोहन अधिकारीलाई भने भ्याई-नभ्याई छ। मलेशियाले कोरोनाभाइरसको सङ्क्रमण रोक्न मार्च १९ देखि आवागमन नियन्त्रण गरिरहेको छ जसका कारण कैयौँ नेपालीहरूको रोजगारी अन्योलमा परेको छ।

काममा नियमित गइरहेका तनहुँका अधिकारीसहित अन्य नेपालीलाई भने कोरोनाभाइरस सङ्क्रमणको डर छ ।

अधिकारी भन्छन्, ‘दैनिक धेरै मानिसहरूको ओहोरदोहोर हुन्छ। भित्र आउनेको तापक्रम जाच्ने काम समेत मैले नै गर्नुपर्छ।’

‘एउटा मास्क र एक जोर पञ्जाको भरमा काम गर्नुपर्दा सङ्क्रमण हुने पो हो कि भन्ने निकै डर लागिरहेको छ।’

तीन लाख नेपाली
मलेशियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ तीन लाख २५ हजार नेपाली वैदेशिक रोजगारीमा छन्।

आवागमन नियन्त्रण गरिएपनि कैयौँ उद्योग र कलकारखानाहरू भने सञ्चालन हुँदै आएका छन्।

विद्युतीय र दैनिक उपभोग्य सामग्री, स्वास्थ्यसम्बन्धी सामग्री र सुरक्षासँग सम्बन्धित उद्योगहरू सञ्चालनमा छन्।

सरकारी अधिकारीहरूका अनुसार सङ्क्रमणबाट जोगिन सामाजिक दूरी, सुरक्षित सेवा र सुरक्षासम्बन्धी अन्य सबै मापदण्ड पालना गरेरमात्रै ती उद्योग सञ्चालन गर्न पाइन्छ।

ती क्षेत्रमा कार्यरत नेपालीहरू कारोनाभाइरस सङ्क्रमणको जोखिममा रहेका छन्।

एघार नेपाली सङ्क्रमित
मलेशियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आइतवार अपरान्हसम्मको तथ्याङ्कअनुसार त्यहाँ कोरोनाभाइरसबाट ६,२९८ जना सङ्क्रमित भएकोमा ४,४१३ जना निको भइसकेका छन्।

सङ्क्रमितमध्ये ८११ विदेशी नागरिक रहेका र तीमध्ये ११ जना नेपाली छन्।

सङ्क्रमित नेपालीमध्ये दुई जना निको भइसकेका छन् भने बाँकी उपचारमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ।

कोरोनाभाइरसका कारण मलेशियामा हालसम्म १०५ जनाले ज्यान गुमाइसकेका छन्।

यसै बीच

सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ ।

श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताए ।

नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उनको भनाइ छ । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए ।

महामारीको बेला आपत्मा परेका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउनु निकै चुनैतीपूर्ण रहेको भन्दै उनले भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गरे ।

“हाल अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ, सबैलाई एकै चोटी नेपाल फिर्ता ल्याउन सक्ने अवस्था छैन”, मन्त्री ज्ञवालीले भने , “उडान खुलेसँगै विदेशमा रहेकालाई सुरक्षित र व्यवस्थित हुने गरी प्राथमिकताका आधारमा नेपाल ल्याउँछौं ।”

अहिलेको विषम परिस्थितिमा आपत्मा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उनले जोखिम नहुने ढङ्गबाट सरकारले योजना बनाएर उद्धारको तयारी थाल्ने बताए ।

“जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुराहरुलाई योजना बनाएर मात्र काम शुरु गर्नुपर्नेछ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँलाई कसरी व्यवस्थापन गर्नेबारे गहन छलफल गरेका छौँ”, मन्त्री ज्ञवालीले भने ।

विदेशी भूमिमा रोजीरोटी गुमाएका नेपालीलाई खान बस्न तथा कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरिएको बताउँदै उहाँले गन्तव्य मुलुकमा रहेका दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी दिए ।

सम्बन्धित देशका सरकारसँग प्रधानमन्त्रीको तहमा कुराकानी भइरहेको भन्दै उहाँले नेपालीलाई थप सहजीकरणका लागि आग्रह गरिएको बताए ।

“कतिपयको करार अवधि सकिएको छ, भिसा अवधि सकिएको छ, ती देशले तत्काल समाधान गरी भिसा थप गरिदिएका छन्”, मन्त्री ज्ञवालीले भने, “सङ्क्रमितलाई आफ्ना नागरिकसरह उपचार सुविधा दिन अनुरोध गरिएको र ती देशले आफ्ना नागरिकसहर नै उपचार गरेका छन् । कहीँकतै असुविधा भएको जानकारी आएको छैन ।”

कार्यक्रममा श्रम आप्रवास विज्ञ एवं इक्विडेम रिसर्च सेन्टरका दक्षिण एशिया निर्देशक रामेश्वर नेपालले अहिलेको अवस्थामा सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने बताए ।

उनले अलपत्र कामदारको उद्धारका लागि संयन्त्र बनाउनुपर्ने साथै गन्तव्य मुलुकमा रहेका नेपालीमा कोरोनाको परीक्षण र उपचारमा ध्यान दिने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।