विदेशमा ९८ नेपालीको शव व्यवस्थापनमा समस्या

विदेशमा ९८ नेपालीको शव व्यवस्थापनमा समस्या

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ९८ जना नेपालीको शव व्यवस्थापनमा कठिनाइ भएको छ ।

नेपालमा लकडाउन हुनुअघि र लकडाउनको अवधिमा विभिन्न कारणले ज्यान गुमाएका १०९ नेपालीमध्ये ११ जनाको परिवारले गन्तव्य देशमा अन्त्येष्टि गर्न मञ्जुरी दिइसकेको भए पनि अझै ९८ जनाको शव व्यवस्थापनामा समस्या भएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

गन्तव्य देशमै अन्त्येष्टिका लागि ११ जनाले अनुमति दिए पनि अहिलेसम्म ४ जनाको मात्रै अन्त्येष्टि भएको छ ।

यो अवधिमा यूएईमा २४ जना, साउदीमा ३३ जना, मलेसियामा ३० जना, कतारमा १० जना, कुवतेमा ७ जना, बहराइनमा १, ओमानमा १ जना, टर्कीमा १ जना, सेसल्समा १ र दक्षिण कोरियामा १ जना गरी १०९ जना नेपालीको ज्यान गएको छ । जसमध्ये यूएईमा २ र टर्कीमा १ गरी तीन जनाको भने कोरोनाको कारण ज्यान गएको छ ।

लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले शवको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनमा थप कठिनाइ हुने कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ । परिवारले अनुमति दिएमा गन्तव्य देशमै अन्त्येष्टि गर्दा सहज हुने भए पनि धेरैका परिवारले यो कुरा स्वीकार नगरेको उहाँको भनाइ छ ।

सहयोग गर्न मृतकका परिवारसँग अनुरोध
सामान्य अवस्थामा पनि नेपालमा विदेशबाट दैनिक २ देखि ३ जनाको शव आउने गर्दथ्यो। साउदी लगायत केही देशबाट शव नेपाल आउन केही समय लाग्थ्यो । तर अहिले लकडाउनका कारणले अन्तर्राष्ट्रिय उडान रोकिंदा शव व्यवस्थापनमा सहयोग गर्न मृतकका परिवारलाई कार्यकारी निर्देशक श्रेष्ठले अनुरोध गर्नुभएको छ ।
‘भोलिको अवस्था कस्तो हुन्छ भन्न सकिन्न, लामो समय शव उतै हुँदा परिवारको अनुमतिबिनै पनि गन्तव्य देशले अन्त्येष्टि गरिदिन सक्छन्,’ कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ, ‘त्यसैले जे हुनु भसक्यो, परिवारले सहयोग गर्नुभयो भने समयमै शव अन्त्येष्टि हुन्छ ।’

अहिले विदेशबाट फर्कनेलाई पनि समाजले अर्कै नजरले हेर्ने समयमा शव ल्याउँदा परिवारलाई अर्को समस्या पनि हुन सक्छ ।

मृतकका परिवारसँग श्रेष्ठले आग्रह गर्नुभयो, ‘तपाईँहरुको मन मान्छ भने महिनौंसम्म शव कुर्नुभन्दा गन्तव्य देशमै शव व्यवस्थापन गर्दा गन्तव्य देशलाई र तपाईँलाई पनि सहज हुन्छ ।’

यो पनि पढ्नुहोस

नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालगञ्जमा मात्रै आइतबार संक्रमण पुष्टि हुनेकोसंख्या १५ पुगेको छ ।

यसअघि वीरगञ्जमा एक जनामा पनि संक्रमण भएको थियो । यो सँगै देशभर संक्रमित हुनेको संख्या ७५ पुगेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताएका थिए ।

मन्त्रालयले जानकारी दिँदा नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ पुरुष र ४ महिला गरी ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको थियो ।
डा देवकोटाले अहिलेसम्म १३ हजार ४ सय १४ पीसीआर र ४९ हजार ६ सय ८८ आरडीटी परीक्षण गरिएको जानकारी पनि दिएका छन् । २४ घण्टामा १ हजार ४ सय ७९ वटा परीक्षण भएका छन् ।

२१ हजार ९ सय ५१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश ५ मा १० हजार ६ सय ६७ जना बसेका छन् । ७७ जना आइसोलेसनमा रहेका छन् भने ३ सय १९ जना रेडजोनमा छन् ।